सुर्खेत, २१ मंसिर । लेकवेशी नगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण सुरु गरेको छ । नगरपालिकाले अपांगता परिचयपत्र कार्यविधी २०७६ जारी गरेसँगै शनिवार परिचयपत्र वितरण सुरु गरेको हो ।
नगर प्रमुख गगन सिं सुनारले वडा नम्वर ६ की तिलसरी दमिनी लाई पूर्ण असक्त अपाङ्गताको प्रमाणपत्र दिई उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख सुनारले गाउँ गाउँमा सिंहदरवार आएको अनुभुती हुने गरि नगरपालिकाले काम गरिरहेको बताए ।
नगरपालिकाकी उपप्रमुख तथा अपांगता नगर समन्वय समिति संयोजक शान्ती कुमारी छन्नेलले परिचयपत्रका आधारमा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा सहजरुपमा प्राप्त गर्न सक्ने बताइन् ।अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अन्तर्रा्ष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवम् प्रभावकारी बनाउने गरी लेकवेशी नगरपालिकाले कार्यविधी २०७६ बनाएको उनको भनाइ छ ।
शनिवार मात्रै लेकवेशी नगरपालिकाका वडा नम्वर ६ देखी १० सम्मका १ सय ७२ जनाले अपाङ्गता परिचय पत्र पाएका छन् । जस अन्तरगत ’क’ वर्गका २६ जना , ख वर्गका ५० जना , ग वर्गका ३८ जना , घ वर्गका ५८ जना गरि जम्मा १७२ जनालाई डाक्टरबाट निशुल्करुपमा अपाङ्गता तथा स्वास्थ्य परीक्षण गरी अपाङ्गताको प्रमाणपत्र वितरण गरिएको लेकवेशी नगरपालिकाका सुचना अधिकारी केशर डाङ्गीले जानकारी दिए ।



दर्शन खबर । २१ मंसिर २०७६, शनिबार