
सुर्खेत । मेहेलपानी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–१४, सुर्खेतको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मनिराम कँडेलको अध्यक्षता तथा कृष्णप्रसाद खरेलको प्रमुख आतिथ्यतामा मिति २०८३ मंसिर १२ गते साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका प्रस्तावहरू पारित गरेको छ । संस्थाले उक्त आर्थिक वर्षमा ४ करोड ३६ लाख ७९ हजार २५९ रुपैयाँ बराबरको कारोबार गर्दै ५ लाख ८४ हजार १७९ रुपैयाँ मुनाफा गर्न सफल भएको जनाएको छ ।
संस्थाले सो अवधिमा किसानहरूबाट १ लाख ४७ हजार ९८८ लिटर दूध खरिद गरी १ करोड ९ लाख ५४ हजार २५५ रुपैयाँमा बिक्री गरेको छ । यसैगरी, फाटेको दूधबापत समेत किसानलाई ४१ हजार ८७८ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
साधारणसभाका अवसरमा असल बचतकर्तातर्फ हरिकला पौडेल र विपना शर्मा तथा असल ऋणीतर्फ यामकुमारी आचार्य र तुलबहादुर दमाईलाई पुरस्कृत गरिएको छ । त्यसैगरी, सबैभन्दा बढी परिमाणमा दूध बिक्री गर्ने गोविन्द भण्डारी, मदन पौडेल र लिलाराम न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
भैंसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत इन्द्रा पौडेल, पहलसिं दर्लामी र ओमबहादुर राष्कोटीलाई पुरस्कृत गरिएको छ भने ज्येष्ठ शेयर सदस्य सम्मान कार्यक्रमअन्तर्गत हरिलाल भण्डारी र शोभा भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
साधारणसभामा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ४ करोड ७६ लाख १० हजार ७०० रुपैयाँ बराबरको संशोधित आयव्यय विवरणसमेत प्रस्तुत गरिएको छ ।
साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सञ्चालक समितिको अध्यक्षमा काशीराम भट्टराई, उपाध्यक्षमा रविलाल भण्डारी, सचिवमा धनकुमारी ज्ञवाली र कोषाध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा प्रेमप्रसाद भट्टराई, रिता कँडेल, नन्दा भण्डारी, सूर्यप्रसाद भट्टराई र तुलाराम पराजुली निर्वाचित भएका छन् ।
यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा ओमप्रसाद चपाई तथा सदस्यहरूमा लालबहादुर थापा र धनकुमारी सारु निर्विरोध निर्वाचित भएका छन् ।
साधारणसभाले संस्थाको आर्थिक तथा संस्थागत गतिविधिको समीक्षा गर्दै आगामी दिनमा कृषि तथा पशुपालन क्षेत्रको प्रवद्र्धन र किसानको आर्थिक अवस्थामा सुधार ल्याउने कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेको छ ।


दर्शन खबर । १३ मंसिर २०८३, शनिबार