हेटौँडाको जमिनमा भासिएर गायब बोलेरोको पार्टपुर्जा भेटियो, निकाल्ने क्रम जारी

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ गैरीगाउँस्थित बोरिङमा भासिएर हराएको बोलेरो गाडीका केही पार्टपुर्जा मंगलवार फेला परेका छन्।

क्रेन र स्काभेटर प्रयोग गरी गाडीको खोजी तथा उद्धारका क्रममा बोलेरोको केही पार्टपुर्जा भेटिएको हो।

गत वैशाख १९ गते दिउँसो करिब १२:५० बजे ना ४ च ४८३३ नम्बरको माछा बोक्ने खाली बोलेरो गाडी अचानक भासिएर उक्त बोरिङमा गायब भएको थियो।

निरन्तरको खोजतलासमा सफलता नमिलेपछि भूगर्भ विभाग, काठमाडौँबाट खटिएको टोलीले वैशाख २३ र जेठ २ गते स्थलगत अनुसन्धान गरी माटो परीक्षणका लागि नमुना संकलन गरेको थियो।

सोही टोलीले सतर्कता अपनाएर उत्खनन् गर्न सकिने सुझाव दिएपछि मंगलवार दिउँसो १२:१५ बजेदेखि वडाध्यक्ष रामकृष्ण कोइरालाको नेतृत्वमा क्रेन र स्काभेटर परिचालन गरी खोजी सुरु गरिएको हो।

उत्खननका क्रममा गाडीका केही भागहरू निकालिएका र निकाल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया