शिक्षकहरुको मासिक तलब दिन स्थानीय निकायलाई शिक्षामन्त्री भट्टराईको निर्देशन


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरुको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा बुधबार उनले नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताइन्। उनले विभिन्न ३९ स्थानीय तहले तलब नदिएको गुनासो मन्त्रालयमा आएको उल्लेख गर्दै ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएको जानकारी समितिमा गराइन्।

उनले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने पनि बताइन्। त्यस्तै, बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको जानकारी पनि शिक्षामन्त्री भट्टराईले समितिमा दिइन्।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन अपूर्ण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः छानबिन गर्नुपर्ने पनि मन्त्री भट्टराईले बताइन्।


तपाईको प्रतिक्रिया