कर्णालीः विकासको सपना र निशाना

डा. दिपेन्द्र रोकाया ।

१. पृष्ठभूमिः
कर्णाली प्रदेशलाई इतिहासमा शैव क्षेत्र र जालन्धर क्षेत्रका रुपमा रहेको पाउँदछौ । कर्णाली नदी माथिको भू–भागमा शैव राज्य र मानसरोवरदेखि तल अझ कर्णाली नदीभन्दा दक्षिणको भू–भागलाई जालान्धर राज्य थियो । शैव राज्य कैलाश तथा हिमालय क्षेत्र हो भने जालन्धर कर्णाली जलाधारमा पर्ने क्षेत्र हो । त्यतिबेला पनि नदीलाई सीमा मानेको र जलाधारका आधारमा राज्य सञ्चालन भएको थियो भन्ने देखिन्छ । नेपालका प्रसिद्ध लेखक मोदनाथ प्रश्रितले हिमवत्खण्डमा भूमिका लेख्दा पुरातात्विक अध्ययनबाट छ करोड बर्ष अघि नेपालको हिमालय क्षेत्रमा टेथिस सागर थियो (योगी, २०७१, पृ. १८) भनी उल्लेख गरेका छन् । यो भू–भागको उत्तरी र दक्षिणी भाग क्रमसः नजिकिनेक्रम जारी छ । परिणामस्वरुपम यी दुवैतिरको घचेटाईले हिमाल, महाभारत तथा शिवालिक (चुरे) पहाडहरु उठ्दैछन् । यो भूगर्भको कुरा भयो । यसो त यस क्षेत्रलाई केन्द्रमा राखी पूर्व पोखरादेखि पश्चिम देहरादुनसम्मको भू–भागमा विगत ५०० वर्षदेखि ठुलो भूकम्प नगएकाले उच्च जोखिम क्षेत्र मानिएको छ ।
कैलाशको चारतिर सिन्धु, सतलज, बम्ह्रपुत्र र कर्णाली नदी बग्दछन् । यिनले चार वटा सभ्यता निर्माण गरेका छन् । कर्णाली नदीले निर्माण गरेको सभ्यता विभिन्न खालका प्राकृतिक विपति र शासनसत्ताको कुदृष्टिका कारण पुरै छोपिएको छ । यस्तो अवस्थामा कर्णाली सभ्यता निर्माण गर्न जौ र तिलजस्ता अन्न उत्पादन गराउने भूमिका खेलेका महादेव र पार्वतीले विकास गराएको कृषि युगको चर्चा भएको पाइदैन । जो कुरा महादेवका धामी पर्तुदा भन्ने गरेको बिदुवालीबाट थाहा हुन्छ । महाभारत कालमा कृष्णले सम्बासुरलाई पराजित गरेपछि त्यहाँबाट भागेका असुरहरु अहिलेको हुम्ला क्षेत्रमा आएर बसेका थिए । त्यसबखत शैव र जालन्धर राज्यबीच युद्ध भएको र त्यस युद्धमा पराजित भएका हुम्लीहरु भागेर काठमाडौ उपत्यका आई बसेका किरातीहरु हुन् (शिवाकोटी, २०७३, पृ. ७६७) । उनीहरुले काठमाडौमा किरातेश्वर महादेव स्थापना गरेको र लामो समय राज्य समेत गरेका थिए । यो पनि निकै पुरानो कुरा भयो ।
भोट क्षेत्रबाट प्रवेश गरेका नागराजको फौजले जुम्लाको पाल वंशलाई परास्त गरी खस सभ्यता र संस्कृतिको विकास मात्र गराएनन्, उनले खस साम्राज्य पनि बिस्तार गरेका थिए । त्यस शासनले सात पटक त काठमाडौ उपत्यकामा आक्रमण गरेको र जितेको भूगोललाई करादीमा छोड्ने गरेको पाइन्छ । पृथ्वीनारायण शाहभन्दा पहिला यस्तै प्रचलन चलेको पाइन्छ, आक्रमण गर्ने र जितेपछि कर उठाएर फर्कने । सिंजापति राजा नागराजभन्दा पुरानो इतिहास बोकेको विराट दरवार अझै सिञ्जा क्षेत्रमा आझेल छ । यो अवस्थामा हामीलाई यो पछिल्लो गृष्मकालीन राजधानी जुम्ला र सितकालीन राजधानी दुल्लुको पृष्ठभूमि पनि बुझ्न गाह्रो भइरहेजस्तो भईरहेको छ ।
उतिबेला शासन सत्ता, व्यापार, व्यवसाय, सभ्यता र संस्कृतिको विकासले गर्दा कर्णाली प्रदेशले आफ्नो परिचय दिन सफल भएको थियो । त्यो तीन कुराले ओरालो लागेको पाइन्छ ।
एक, वि.सं. १८४६ मा जुम्ला कब्जा गरेका गोर्खालीहरुविरुद्ध कर्णालीवाशीले विद्रोह गरी गमगढी, दार्म, रादेउ, सिमकोट, याल्बाङ र ताक्लाकोटसम्म विद्रोहको मोर्चा कस्नुले काठमाडौका शासकहरु आक्रोशित हुन पुगे । सोही कारण ‘बाह्र बर्ष माथिकालाई साफ गर’ भन्ने नीति लिई विद्रोहीलाई मार्ने र भेटिएका युवा युवतीलाई जम्मा गरी पश्चिमको युद्धमा युद्धबन्दीको रुपमा लिएपनि लडाईमा होमिन बाध्य पारियो । यदि त्यस्तो अवस्था हुन्थेन भने हाम्रा पैकेलाहरुले कुनै न कुनै मोर्चामा नेतृत्वदायी भूमिका खेलेको पाइन्थ्यो होला । त्यो पाइएको छैन । हाम्रो खास इतिहास यसरी ग्याव पारेपछि अर्ति दिने मान्छेको अभावमा गुमेको थियो ।
दुई, परम्परागत सामन्तवादी प्रवृत्ति भएका शासकहरुले गोर्खाली अत्याचारबाट बच्न भनेर बाटोमा दिसा गर्न लगाउने संस्कृति विकास गर्नाले हरेक हिसावले कर्णालीलाई एक्लो पार्ने काम ग¥यो । यसरी साढे दुई शताब्दीसम्म कर्णाली शासन सत्ताको मुलधारबाट एक्लियो । यसमा कर्णालीवाशीको नकरात्मक चेतनाका कारण पनि पछि पर्ने अवस्था आयो ।
तीन, यसैगरी चीनको तीब्र विकासले गर्दा तिबबतमा गरिने परम्परागत व्यापारमा स्तरोन्नती गर्न सकिएन । सोही अनुसार शिक्षा, यातायात र व्यापारमा पछि परेका कारण भोटको भोट्या कहाँ पुग्यो ? अव पुराना दिन सम्झेर यस्तो थियो कर्णाली भन्दै माला गन्ने जमाना गयो ।
यसमा काठमाडौस्थित सिंहदरवारले कर्णालीको विशेषता नबुझी विकासका प्याकेज घोषणा गर्ने तर काम नगरेकोमा चित्त दुखाएर काम लाग्ने दिन पनि सकिए । त्यहाँ काम गर्न जाने राष्ट्रसेवकहरु पनि आफुलाई कारवाहीमा पठाएको अनुभव गर्ने हुनाले यहाँको विकास के गरी हुन सक्तथ्यो र ? भनी मन बुझाउने अवस्था पनि सकियो । विकास भन्ने कुरा त एउटा उत्कृष्ट इच्छाशक्ति, प्रतिबद्धतासहितको संकल्प र सकारात्मक प्रचारबाट हुने कुरा हो । जनयुद्ध र जनआन्दोलनपछि संविधानसभाबाट बनेको संघीय संरचनाले गर्दा अब अरुलाई दोष दिएर उमकने जमाना समाप्त भएको छ । यसैले विकासको लक्ष्य किटान गरी अघि बढ्ने बेला आएको छ ।
२. विकासको सपना
हामीले चाहेको विकासका सन्दर्भ उल्लेख गर्दा विकासलाई हामीले हाम्रो जीवनसँग जोडेर परिभाषा दिन पर्ने हुन्छ । यसैले म ‘वालवालिकालाई लगानी, युवालाई रोजगार र जेष्ठ नागरिकलाई सम्मान’ गर्न सके मात्र कर्णाली प्रदेशको विकास हुने देख्दछु । यो कार्यक्रम कर्णाली प्रदेश सरकारको आ.व. २०७५र०७६ मा उल्लेख गरेपनि सरकारले अपनत्व गरी कुनै कार्यक्रम बनाएको पाएको छैन । वालवालिका भनेका भोलिको पुस्ता हो । यस पुस्ताको विकासको लागि विज्ञान, प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य, मानविकी, खेलकुद, व्यापार व्यावसायजस्ता क्षेत्रमा हरेक व्यक्तिको कम्तीमा ५० वर्षको आँकलन गरी ३० वर्षे ऊर्जा देशले उपयोग गर्ने गरी शिक्षादिक्षा दिनेबारे सोच्न पर्दछ । यसो भयो भने हरेक व्यक्तिले संभावना बोकेर जन्मेको अनुभव हुनेछ । आखिर हामीले शुरु गरेको कामको परिणाम दिने वा ल्याउने पुस्ता त्यही नयाँ पुस्ता हो भन्ने बुझी वालवालिकालाई पञ्चतत्व सुहाउँदो शिक्षा दिने व्यवस्था गर्न आवश्यक छ । यसो भयो भने हामीले रोपेको विरुवाले सही फल दिने आशा गर्न सक्नेछौ ।
आज हरेक दिन पन्ध्र सय युवाले जहाज चढेर खाडी क्षेत्रमा काम गर्न गइरहेका छन् । त्यसमा कर्णाली प्रदेशका कम छन्, भन्ने अनुमान गरिएको छ तर त्यही अनुपातमा खुला सिमा उपयोग गर्दै भारतका गल्लीहरुमा कुल्ली काम गर्न कर्णाली प्रदेशका युवाहरु विदेश पलायन भइरहेका छन् । गाउँघरमा रहेकाहरु पनि विरक्तिएका देखिन्छन् । अघिल्लो दशकमा माओवादी जनयुद्धले नोकरी पाए सरह राजनीतिक अभियानमा लाग्ने अवस्था सिर्जना गरायो । तर यस अभियानले निकै ठुलो राजनीतिक परिवर्तन त ल्यायो, तर त्यस अनुसार व्यवस्थापन हुन नसक्दा ‘संगैका साथी सिंहदरवारमा मलाई केले भुल्यायो’ भन्ने भईरहेको छ । अर्कोतर्फ खुराफात गरी पद र प्रतिष्ठा हत्याउनेहरुका बिरुद्ध यो वा त्यो आक्रोशको आगो सल्किरहेको पाइनछ । यो सबै बेरोजगारीको पीडाले भएको हो । यतिबेला केही नेताहरुले राजनीतिक क्रान्ति सकियो भनीरहे पनि राजनीतिक संघर्षका नाममा हतियार उठ्ने सम्भावना पनि उत्तिकै खतराका रुपमा देखिरहेको छ ।
यसैले युवा केन्द्रित भई यो वा त्यो रोजगारीको ग्यारेन्टी गर्न सक्नु पर्दछ । यसका लागि क्रमबद्ध काम के हुन सक्छ ? भनी हेर्नपर्छ । मेरो विचारमा हाम्रा विद्यामान युवा जनशक्तिलाई सडक, उद्योग, बस्ती विकास, कृषि, पर्यटन, वातावरण र केही प्राविधिक शिक्षामा व्यस्त बनाउन सके रोजगारीको लागि अन्त जाने होइन, अन्तबाट दक्ष जनशक्तिको लागि आवेदन माग गर्नपर्ने हुन सक्ने देखिन्छ । हामीले अहिलेसम्म सडक नभएर महंगीको मार खेप्न परिरहेको छ । सडक भयो भने जनजीवनमा सहजता आउने छ । त्यसका लागि कर्णाली र भेरी कोरिडोरमा चारलेनको महत्वकांक्षी सडक निर्माण गर्नपट्टि लाग्न पर्दछ । यसमध्ये प्राथमिकतामा पार्नुपर्ने सडक रुपडिहा–हिल्सा सडक नै हो । यसले हामीलाई दुई ठुला छिमेकी देश मात्र नभई पूर्वी युरोपसम्म पुग्ने पहुँच मिल्न सक्ने देखिएको छ । यसो त नेपाल विकास अनुसन्धान प्रतिष्ठानका डा. नवराज खतिवडाका अनुसार सुर्खेतलाई केन्द्रमा राखी त्यहाँबाट आधा घण्टामा नेपालगञ्ज, तुल्सिपुर, चौरजहारी, जुम्ला, दिपायल र धनगढी तथा त्यसका आधारमा दुई घण्टामा हुम्ला, मुगु र डोल्पाका सदरमुकामसम्म पुग्ने सडक पहुँचको परिकल्पना गर्नपर्ने देखिएको छ । यस कामका लागि श्रमदल निर्माण गरेर संचयकोषको समेत व्यवस्था गरी बलिया विकासप्रेमी युवालाई रोजगारी दिन सकिन्छ ।
यसैगरी कर्णाली ऊर्जामा निकै सम्भावना भएको प्रदेश हो । यहाँको माथिल्लो कर्णाली, फुकोट कर्णाली, बेतन कर्णाली, तिला १, तिला २, जगदुल्ला, आगेखोला, शारदा, नलसिंङगाड, भेरी १, भेरी ४, जवा, हुम्ला १, हुम्ला २, कवाडीखोला लगायतका आयोेजनालाई लगानीमैत्री वातावरण बनाई सञ्चालनमा ल्याउने काम थाल्दा कतिले रोजगार पाउने छन् ? त्यहाँ पनि कर्णाली प्रदेशका मात्र होइन, देश विदेशबाट जनशक्तिको माग गर्नपर्ने स्थिति आउनेवाला छ । यी आयोजना निर्माण पश्चात बन्ने औधोगिक रुप र औधोगिक चेतनाले निर्माण गर्ने रोजगारी अनगिन्ती छन् । तर यहाँ आफ्नो हुँदाखाँदाको बजारको कुनै वास्ता नगरी विद्युतको बजार खोज्ने परिपाटी तथा दास मानसिकताले केही अवरोध आइरहेको छ । यस्ता कुराको व्यवस्थापन गर्न सक्नु पर्दछ ।
हामीले राजनीतिक लडाई र परिवर्तन भएको देख्यौ, तर अनुभव हुने तहको परिवर्तन भएको पाएका छैनौ । यसैले र लामो समयदेखि भुकम्प नआएको क्षेत्र कर्णाली प्रदेश भएकाले यहाँका छरिएका बस्ती विकासका बाधक तत्व मानिएको छ । हामीले कर्णाली विकास आयोगको तर्फबाट त्यस विषयमा अध्ययन गर्दा के कुरा गहिरो गरी महसुस गरेका थियौ भने यदि कर्णालीका गाउँबस्तीमा सुरक्षित एकीकृत बस्ती विकास गर्न सकिएन भने प्राकृतिक विपतिका साथै विकास भयो भन्ने नमुना स्थापित गर्न निकै गाह्रो पर्ने देखेका थियौ (रोकाया र बुढा, २०७४) । यसै प्रतिवेदनको सुझावको आधारमा कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको छ । यस कार्यक्रमलाई सफल पार्न सरकारको नीति तथा अनुगमन, निजी क्षेत्रको अगुवाईमा लगानी र स्थानीय समुदायको श्रमसहित सहभागिता सुनिश्चित गर्नपर्ने हुन्छ । यसो भयो भने कर्णाली सभ्यताले भौतिक चोला फेर्नेछ ।
यसो त मान्छेहरुका आ–आफ्ना रुची हुन्छन् । परम्परागत शिप र क्षमता छन् । परम्परागत कृषि काममा रहेको जनशक्तिलाई विशिष्टिकरण गर्दै जान सकियो र कृषिलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षेत्र ठान्ने गरी विकास गर्ने हो भने रोपेको १५ दिनदेखि एक वर्षसम्ममा उत्पादन प्राप्त गर्ने आधार मिल्दछ । यसो गरियो भने उत्पादन आयात होइन हाम्रा अर्गा्निक उत्पादनलाई औषधिजन्य रुपमा निर्यात गर्न सक्नेछौ । धेरैले कर्णालीमा कृषियोग्य जमीन कम छ भन्ने गर्दछन् तर अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा उत्पादन गर्ने तरिकामा फरक पर्ने गरेको देखिन्छ । हामीसँग विभिन्न तापक्रमको हावापानी तथा वातावरण छ । यसका साथै, एउटा खाली मान्छे भारी बोक्न वा भाषा जाने पुग्छ कि पर्यटकहरुलाई घुमाउदै आफुले समेत भरपुर मनोरञ्जनका साथै आम्दानी गर्ने ठाउँ छ ।
हरेक गाउँमा होम स्टेको राम्ररी व्यवस्थापन ग¥यौ भने विदेशी पर्यटकका लागि दैनिक १०० डलर र आन्तरिक पर्यटकलाई कम्तीमा ७०० नेपाली रुपैया खर्च गर्ने अवस्था सिर्जना गर्न सक्नु पर्दछ । कर्णाली प्रदेश कैलाश मानसरोवर जाने दक्षिणको सबभन्दा सजिलो गेट हो । यसका साथै, विभिन्न धार्मिक, साँस्कृति, प्राकृतिक, ऐतिहासिक तथा नवनिर्मित पर्यटकीय स्तानहरु छन् । यसैले ‘विश्वको पर्यटकीय गन्तब्य नेपाल हो भने नेपालको पर्यटकीय गन्तब्य कर्णाली हो’ भन्ने कुरा स्थापित गराउन आवश्यक छ । पर्यटन धुँवा नआउने उद्योग भएकाले पर्यटनलाई अन्तर्रा्ष्ट्रिय सम्बन्ध स्थापित गर्ने रोजगारी पनि हो ।
यसरी नै शिक्षा र स्वास्थ्यलाई जसरी मौलिक हकमा राखिएको छ, त्यही प्रकारले राज्यले सेवा विस्तार गर्न सकेमा कर्णालीको विकास हनुमानलाई श्रीलंका पुग्ने तागत छ भनी सुनाउँदा आफ्नो तागत हनुमानले देखाएझैको स्थिति निम्तिनेवाला छ । एक अध्ययनले कर्णालीमा आवासीय विद्यालय सरकारी स्तरबाटै सञ्चालनमा ल्याउन सकिने र जसका आधारमा भर्नाबाट मात्र होइन, विद्यालय शिक्षाबाट कोही पनि बन्चित हुने देखिएको छ । यो सबै निर्वाहमुखी परम्परागत कृषि प्रणालीले निम्त्याएको दुःख हो ।
एवं प्रकारले जेष्ठ नागरिकलाई अनुभव बैंकको रुपमा लिई विभिन्न परियोजना सञ्चालनमा ल्याउन आवश्यक छ । यसो गर्न सकिएमा कोही पनि अभिभावकले बुढेस कालमा अपहेलित हुनपर्ने छैन ।
३. लिनपर्ने संकल्प
कसैको लक्ष्य यसै घर्तीमा रमाउने हुन्छ । कसैलाई यसै घर्तीमा रहनु परेपनि अरु ग्रहहरुमा समेत घरजम गर्नेसम्मको सपना देख्ने लक्ष्य रहेको हुन्छ । मान्छेका लक्ष्य पनि अनेक प्रकारका हुन्छन् । यहाँ कर्णालीका नागरिकको जीवनस्तर उठाई आधुनिक विश्वको उच्चस्तरको जीवनस्तरसँग मिल्ने स्थानको खोजी कर्णाली प्रदेशको हुन पर्दछ । त्यसका लागि कर्णाली प्रदेश सरकारले ‘पानी, खानी, कृषि र वन – हाम्रा युवा हाम्रा धन’ भन्ने नाराका साथ आगामी पाँच वर्ष्भित्र कर्णालीका जनताको प्रतिव्यक्ति आय २१०० डलर पुर्याउने संकल्प बोकेको छ । यो प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नपाली, समृद्ध नेपाली’ को नारा कार्यान्वयन गर्ने स्प्रीडसँग मिल्दो छ ।
के यो लक्ष्य निर्धा्रित समयसम्म कार्यान्वयन होला ? एकथरीले प्रदेश सरकारको गति हेर्दै चाल पाइयो भन्न थालेका छन् । अर्कोथरीले समीक्षा वा टिप्पणी गर्ने बेला भएको छैन भनीरहेका छन् । यर्थाथमा प्रदेश सरकार एकातिर प्रशासन संयन्त्रको अभाव र अनुभवको कमीका कारण विभिन्न अलमलका बीचबाट अगाडि बढ्ने कोशिस गरिरहेको देखिन्छ । यस आधारमा हेर्दा के गर्ने भन्ने कुरा धेरैले भन्न सक्ने भएको पाइन्छ । अब यसलाई कसरी गर्ने र त्यसलाई वैधानिकता कसरी दिन सकियो भने सम्भव हुन्छ भनी खाका प्रस्तुत गर्न आवश्यक छ । यसका लागि कर्णाली प्रदेशले प्रदेशभित्रका २५ नगरपालिका र ५४ गाउँपालिकाबाट प्रति नपाको २ वटा प्रति गापाको १ वटाका दरले १०४ वटा आयोजना र प्रदेशले छनोट गर्ने ६ वटा मेगा आयोजना गरी १११ वटा परियोजना बैंक निर्माण गरी कार्यान्वयन गर्ने हैसियत निर्माण गरेको खण्डमा कर्णालीले विगतको उपमाबाट पीडित हुनपर्ने छैन । यहाँ विज्ञ समिति गठन भइसकेको छ । व्यवहारिक रुपमा अगाडि बढ्नका लागि नीति तथा योजना आयोग लाग्नु पर्ने हुन्छ ।
४. के गर्ने ?
विकासको खोजी गर्नु भनेको आकाशको तारा भेट्नुजस्तो विषय पनि होइन । तर यहाँ यस्तै भइरहेको छ । जुन देश विश्वमा चिनिदैन, त्यो देशमा पर्यटक र लगानीकर्ता जान रुचाउँदैनन् (कोइराला, पृ. १५९) रहेछन् भन्ने अनुभव महाथिर मोहम्मदले जसरी मलेसियामा गर्नु परेको थियो, त्यस्तो अवस्था हाम्रो होइन । यसैले संभावनाको खोजी गर्दा व्यवहारिक रुपमा १ र १ जोड्दा साधारणत २ भएको पाउँदछौ । यसैलाई सामाजिक विज्ञानले एकै पनि हुन्छ, एघार पनि हुन्छ र उस्तै पर्दा १०१ वा १११ समेत हुन सक्ने देखाउको छ । म राजनीतिशास्त्रको विद्यार्थी हुनुको नाताले हरेक संभावनालाई १०१ वा १११ बनाउन क्रियाशील हुनपर्ने देख्छु । यसैले अब अरुले गरेनन् भन्ने दिन गएकाले आफुले गरेर सिद्ध गर्न सकिने पक्षमा क्रियाशील हुने बेला आउको अनुभव गर्दछु । आधुनिक युरोपमा पनि अझै भनिदो रहेछ, रोम शहर एकै रातमा निर्माण भएको होइन ।
नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा लाने सुत्र कर्णाली प्रदेशले दिन पनि सक्छ । यसका लागि सामुदायिक विकास, ग्रामीण विकास र शहरी विकास व्यवस्थापनको रणनीति तय गर्नपर्ने हुन्छ (विकास व्यवस्थापन, २०७३, पृ.३२७–३५९) । यसका लागि पैसाको चलखेल बढाउनु पर्दछ । पैसालाई सुत्न दिनु हुँदैन । पैसा विश्वका जुनसुकै ठाउँमा होस्, त्यसलाई आर्क्षित गर्न सक्नु पर्दछ । विश्वासिलो कानुनी शासन र इमान्दार सरकार भयो भने विरोध गर्नेले पनि सितिमिती विरोध गर्न अघि सर्दैन । विकासका लागि कर्णाली प्रदेशमा सत्तापक्ष र प्रतिपक्ष नभन्ने स्थिति त छ, त्यसलाई गर्छु र गर्न सक्छु भन्ने भाव समात्न सक्नु पर्दछ । अहिलेसम्म अमेरिका विश्वको अग्र स्थानमा किन छ भने जस्तासुकै समस्या समाधान गर्न सक्छु भन्ने भावका साथ अध्ययन अनुसन्धानमा लाग्छ र सैन्य वलका लागि प्रयाप्त रकम छुट्याउँछ । यस्तै छिमेकी देश चीनले विश्व अर्थतन्त्रको नेतृत्व गर्दै व्यापार विस्तार गर्न ‘वान बेल्ट–वान रोड’ को अवधारणाका साथ अघि बढेको छ । नजिकैको भारतले पनि आफ्नो विकासको रफ्तार बढाईरहेको छ । हामी यी दुई छिमेकीका पुल बन्ने कि सिंगापुर जस्तो ट्रान्जिट बन्ने भन्ने बहस आफ्ना ठाउँमा छन् । हामीलाई कर्णालीको विकासको लागि विरालो कालो होस् कि सेतो, मुसा मरेको हुनपर्छ भन्ने चिनियाँ नेता देङ् स्याओ पिङको भनाई विचार गर्न परेको छ ।
यसकारण हामीले कर्णालीमा गरिएका सबैखाले अध्ययन अनुसन्धानको निचोडअनुसार वा अध्ययन अनुसन्धान गरेर कुन ठाउँमा के पुर्याउन आवश्यक छ ? कहाँ के कुरा मनग्ये उत्पादन हुन्छ ? कुन क्षेत्रमा के भूमिका खेलियो भने उल्लेख्य फाइदा उठाउन सकिन्छ भनी आउने सुचनाले नीति निर्माण गर्न र कार्यान्वयनमा ल्याउन सहयोग गर्दछ । यसमा काम गर्दा नैतिक दायित्व लिन सक्ने वातावरण बन्यो भने मात्र आफ्नो उत्पादन वा परिणाममा गर्व गर्ने संस्कृतिको विकास हुन्छ ।
५. लक्ष्य पुरा गर्ने माध्यम
हामीले हाम्रै तरिकाले विकास गर्न सक्नेछौ । यसैले यसका लागि विश्वमा विकास भएका नयाँ प्रविधिलाई अपनाउन सक्नु पर्दछ । देश विदेशबाट राम्रा सम्भावना भएका सर्वोत्तम दिमागलाई आर्क्र्षित गर्न सक्नु पर्दछ । जसरी अमेरिकाले शुरुमा युरोपबाट संघर्षशील युवाहरु र दोस्रो विश्वयुद्धपछि एसियाका विद्यार्थीलाई आर्क्र्षित गरी सबै क्षेत्रमा विकास गर्न सकेको छ (कोइराला, २०७२, पृ. २१३) । आन्तरिक रुपमा आफ्नो प्रशासन संयन्त्र राम्रो बनाउनु पर्दछ । भ्रष्टाचारमाथि सुन्य सहनशीलताको नीति व्यवहारमा उतार्नु पर्दछ । ऊर्जावानलाई ठाउँ र राम्रो तलव दिन तयार हुनु पर्दछ । झुटो आश्वासन दिन हुँदैन । जापानीजस्तो दक्षता र दृढता, दक्षिण कोरियालीजस्तो बचत गर्ने बानी, ताइवानी जस्तो नक्कल तुरुन्तै निकाल्न सक्ने क्षमता त्यसपछि आउँछ । अझ भनौ जसले जति घेरा लगाएपनि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाजस्तो शानका साथ विश्व शक्तिसँग वार्ता गर्ने स्थानमा नेपाललाई पुर्याउन सकिन्छ ।
हामी जो जहाँ छौ, मालिक होइन, सेवकको हिसावले प्रस्तुत हुन सक्यौ भने विश्वका हरेक नागरिक नेपाल एक पटक अध्ययन भ्रमण नगरे पछुतो मान्ने अवस्था ल्याउन सक्छौ । यसका निमित्त कर्णाली प्रदेश सरकारले त्यहाँका नगरपालिका र गाउँपालिकासँग समन्वय गरिरहेको पाइन्छ । असोज १९ र २० गतेको भेलाले यही सन्देश प्रवाह गरेको छ । यो काम गर्ने परिवेश निर्माणको माध्यम हो । यो माध्यममा सकारातमक सन्देश प्रवाह भयो भने प्रदेशले आफुलाई समन्वयको केन्द्र बनाउन सक्दछ । जब सबै स्थानीय तहका सरकारलाई समन्वय गर्न सक्छ, तब मात्र उसले त्यस प्रदेशभर व्यवहारिक नेतृत्व दिन सक्तछ । यसपछि मात्र स्थानीय तह र संघीय सरकारसँग समन्वय गर्दै दुवैतिर आफुले नियन्त्रण गर्न सक्ने विषय पनि उठाउन सम्भव हुन्छ । यसो गर्नका लागि समग्र क्षेत्रको विज्ञ सम्मिलित कर्णाली विकास मार्ग्चित्र बनाउनु पर्दछ । यसैका आधारमा लागनी सम्मेलन गरी निजी तथा वैदेशिक लगानी आर्क्षित गर्न सक्नु पर्दछ । संघीय सरकारसँग सहमति लिएर आर्थिक कुटनीति र वैदेशिक सहायता व्यवस्थापन गर्ने (पोखरेल, २०७०, पृ. ११५–१४६) तौर तरिका मिलाउन आवश्यक छ ।
सपना त्यतिबेला साकार हुन्छन्, जतिबेलासम्म देखेका सपना कार्यान्वयन हुँदैनन् त्यसबेलासम्म त्यस परियोजनाको सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतिको आधारमा निकालिएको निष्कर्ष र सुझाव हेरी निरन्तर लागिरहनु पर्दछ । के यसो गर्ने हामीसँग इच्छाशक्ति छ ? छलाङमय विकास चाहने हो भने अहिले त्यो इच्छाशक्ति सबैले तन, मन र धनबाट देखाउनै पर्दछ । विश्व विकास इतिहासका अनुभवबाट के भन्न सकिन्छ भने अमेरिकाले विकसित हुन दुई सय वर्ष लाग्यो । वेलायत विकसित हुन पनि लगभग त्यति नै समय लाग्यो । जापानले प्रविधिको विकासले त्यति समय लाग्दैन भनी प्रमाणित गराउँदै साठी वर्षमै त्यो क्षमता देखायो । त्यस रेकर्डलाई समेत उछिन्दै चीनले तीस वर्षमै आफुलाई संसारकै विकसित राष्ट्रमा पु¥यायो । यस्ता तथ्यहरुका अघि हाम्रा योजना विद, राजनैतिक, प्रशासनिक, सुरक्षा र मिडिया नेतृत्वले इमान्दारिताका साथ ‘वर्क इथिक’ बनाएर अघि बढ्न जरुरी छ । यसो भयो भने जसरी हाम्रा चुच्चे ढुङाहरुले देउताको रुप पाएर पुजित छन्, त्यसैगरी यहाँको प्रकृति र मानव जीवनले इज्जत पाउने युगको शुरुवात गर्न सक्नेछौ ।


तपाईको प्रतिक्रिया