स्याउको बजारीकरणमा सहयाेग गर्न मुख्यमन्त्रीसँग जुम्लाका किसानको आग्रह


जुम्ला । जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् । कृषि विकास कार्यालयले किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्लाको स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् ।

स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई आफूहरूले माग गरेको चन्दननाथ नगरपालिका–४ किसान नारायण चौलागाईँले बताउनुभयो । किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरूपता कायम नभएको उहाँको गुनासो छ ।

प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न कर्णाली राजमार्ग कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले बताउनुभयो । वास्तविक किसानले अनुदान नपाएका उहाँको आरोप छ ।

मुख्यमन्त्री कँडेलसमक्ष किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका थिए । जुम्लामा चार हजार चार सय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ ।

चालू आर्थिक वर्षमा ६१ करोड ४१ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया