कोप –२९ काे आज हुने उच्चस्तरीय सत्रमा राष्ट्रपति पौडेलले सम्बोधन गर्दै


काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले अजरबैजानको बाकुमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को आज हुने उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

हिजो शुरू भएको कोप –२९ सम्मेलनमा आज उच्चस्तरीय सत्र ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ हुने कार्यतालिका छ । यस्तै सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन भोलि राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित देश मध्ये पर्छ ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाण्डौ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अजरबैजानको बाकुमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को आज हुने उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

आउँदोे मङ्सिर ७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल भने आफ्नो प्रस्तुती सकेर यही कात्तिक ३० गते शुक्रवार स्वदेश फर्कने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया