नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले सबैभन्दा धेरै २२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३७ ओभर ३ बलमा एक सय २७ रनमा अलआउट भयो । सुदूरपश्चिमका अभिषेक थापाले २९, नरेन भट्टले २७ रन बनाए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए ।
प्रतियोगितामा सात प्रदेश सहभागी भएकामा सुदूरपश्चिम शीर्ष र लुम्बिनी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
दर्शन खबर । २१ कार्तिक २०८१, बुधबार