आज संविधान तथा राष्ट्रिय  दिवस, विविध कार्यक्रम गरी मनाइँदै 

संविधान दिवस तथा राष्ट्रिय दिवस आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखाएकाे संविधानले आज साताैँ दिवस मनाउँदैछ। तत्कालीन सात राजनीतिक दल र विद्राेही नेकमा (माओवादी)बीच भएकाे शान्ति सम्झाैता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत २०७२ सालकाे असाेज ३ गते नेपालकाे संविधान जारी गरिएकाे थियाे। साेही सम्झनामा हरेक वर्षझै आज पनि देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ।

२०६२/६३ काे जनआन्दाेलन पश्चात प्राप्त भएका उपलब्धिहरू नयाँ संविधानमा राखिएका छन् । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ। सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ। यसपटक सातौँ संविधान दिवस मनाउन लागिएको हो। सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ।

यसैबीच संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गर्नुभएको छ । सरकारले संविधान दिवसका अवसरमा दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया