रारा विमानस्थलबाट उडान ठप्प, यात्रुहरु अलपत्र


मुगु । मौसम खराबीका कारण तीन दिनदेखि रारा विमानस्थलमा उडान हुन सकेको छैन । बर्षातको समयमा मौसममा खराबी आइरहँदा रारा ताल्चा विमानस्थलमा तीन दिनदेखि उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ ।
गएको शुक्रबार नेपालगन्जबाट समिट एयरले यात्रु लिएर मुगुका लागि उडेपनि जुम्लाको सिन्जा क्षेत्रमा पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको रारा विमानस्थलमा अवतरण नगरी पुनः नेपालगन्ज विमानस्थल फर्केको थियो ।
आइतबार मौसम खुलेको भएपनि समिट एयरले पहिलो उडान हुम्ला, दोस्रो जुम्ला गरेपनि तेस्रो उडान राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि समिट एयरले आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगित गरेको छ ।
मौसमले साथ दिए सम्भवत सोमबारबाट नियमित उडान हुने सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भामले बताए ।
तीन दिनदेखि उडान नभएपछि नेपालगन्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगन्ज, सुर्खेत, काठमाडौं जाने यात्रुहरु अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया