बाढीले पुल भत्किँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

बाढीले पुल भत्किएपछि पूर्व-पश्चिम राजमार्गको महेन्द्रनगर-अत्तरिया खण्ड अवरुद्ध भएको छ।

गए राति आएको बाढीले कञ्चनपुरको सुडा चोकमा रहेको पुल भत्किएको छ। पुल भत्किएसँगै आइतबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। सीमान्त शहर महेन्द्रनगरबाट सुदूरपश्चिमसँगै देशका पूर्वी शहरसम्म पुग्न सवारी साधन बाटोमै रोकिएका छन्।

त्यस्तै, लगातारको वर्षाले कञ्चनपुर र कैलालीका अधिकांश भूभाग डुबानमा पर्दा जनजीवन प्रभावित भएको छ। कैलालीको भजनीमा गए राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन्। उनीहरूलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ।

टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन्। विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेका छन्।

कञ्चपुरको दक्षिण क्षेत्रका अधिकांश बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कतिपय परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको छ।

त्यस्तै, महाकाली नदीमा पानीको बहाव बढेपछि आवतजावत बन्द गरिएको छ। बनबासा पुलमा सवारी साधनलाई रोक लगाइएको छ।

तपाईको प्रतिक्रिया