सुर्खेत, ०१ कार्तिक । कर्णाली प्रदेशको प्रवेशद्वार छिन्चुमा बसपार्क निर्माण हुने भएको छ ।
बसपार्कका लागि मन्त्रिपरिषद्को बैठकले वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्वर १२ कोे छिन्चुमा बसपार्क निर्माण हुने भएको हो ।
छिन्चुमा हालसम्म पनि बसपार्क स्थल नभएका कारण सडकलाई नै बसपार्कको रुपमा प्रयोग गर्ने गरिएको थियो । बिहीबार सार्वजनिक मन्त्रिपरिषद् निर्णयमा ‘भेरीगंगा नगरपालिकामा बसपार्क निर्माण र सञ्चालनका लागि वडा नम्वर १२ मा रहेको राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जग्गा प्रयोग गर्न दिइने’ उल्लेख गरिएको ।
सरकारको निर्णय स्वागतयोग्य रहेको भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु आचार्य (ढकाल)ले बताउनुभयो । बसपार्क निर्माणका लागि पटक–पटक पहल गरिरहेको भन्दै उपप्रमसख ढकालले मन्त्रिपरिषद्को यो निर्णय नगरवासी हाम्रा लागि खुसीको विषय भएको बताउनुभयो ।
उपप्रमुख आचार्यले सहरी विकास मन्त्रालयसँग बसपार्क निर्माणका लागि नगरपालिकाले समन्वय गरिरहेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयसँगै वनक्षेत्रमा रहेका रुख कटानीका प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । रुख कटान, डिपीआरलगायतका काम सुरु भन्दै यसै आर्थिक वर्ष्भित्र बसपार्क निर्माण कार्य थालिने ढकालले बताउनुभयो ।



दर्शन खबर । १ कार्तिक २०७६, शुक्रबार