चिरपटले हानेर हत्या

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक युवाको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका–१ काल्चेका यामबहादुर वि.क.को हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय निराजन विक र विनोद भन्ने विनय विकलाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रवि रावलले जानकारी दिनुभयो ।
निराजनलाई २४ गते गुर्भाकोटबाट र विनोदलाई महानगरिय प्रहरी वृत्त स्वयम्भु काठमाडौंको समन्वयमा पक्राउ गरिएको रावलको भनाई छ । यामबहादुरको असोज २२ गते राती भान्सा कोठामा कुटपिट गर्दा मृत्यु भएको प्रहरीको जनाकारी दिएको छ ।
‘वादविदका कारण यामबहादुरलाई दाउराको चिरपटले हानेर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ’ रावलले भन्नुभयो, ‘यस विषयमा थप अनुसन्धान जारी रहेकाले वास्तविक तथ्य केही दिनमा खुल्नेछ ।’ पक्राउ परेका दुवै जनालाई अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको पनि रावलको भनाई छ ।


तपाईको प्रतिक्रिया