रूस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुग्याे


काठमाडौँ । रूस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ जना पुगेको छ। रूस-युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएसँगै ज्यान गुमाउने नेपालीको संख्या १२ जना पुगेको हो।

थप लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएकाे छ। माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका केन्द्रीय सचिव सुनील सुनारले परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश जान लागेको जानकारी गराएको‚ उनी रूसी सेनामा भर्ती भएको र पुस १४ गते मृत्यु भएको खबर मंगलबार आएको जानकारी दिए।

साजनका पिता श्रीमान गुरुङका अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका थिए तर साजन रूसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्रै पाएको थियो।

गत पुस २६ गते मात्रै रूसी सेनामा भर्ती भएका प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनारको मृत्यु भएको रूसबाट उनका साथीले जानकारी दिएका थिए। मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारीअनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन्। निजले नै उनको मृत्युको खबर दिएका हुन्।

यसैगरी पुस ४ गते परराष्ट्र मन्त्रालयले रूसी सेनामा भर्ती भएका कुन्दनसिंह नागलको मृत्यु भएको जानकारी दिएको थियो। साथै युक्रेनमा ४ जना नेपालीलाई बन्दी बनाइएको पनि मन्त्रालयले पुष्टि गरेको छ।

गत मंसिर २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका थिए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले कोही भिजिट भिसा र कोही अध्ययन भिसामा रूसमा पुगेका २ सय नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताएका थिए।

हाल दर्जनभन्दा बढी नेपाली युवाका शव रूसस्थित शवगृहमा राखे पनि सरकारले स्वदेश ल्याउन सकेको छैन।

तपाईको प्रतिक्रिया