सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई कैद सजाय

जिल्ला अदालत, बाँकेले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई कैद र जरिवाना तोकेको छ।

अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजार रुपैयाँसम्म जरिवानाको फैसला गरेको सूचना अधिकारी हेमन्त भट्टराईले बताए। अदालतले साविकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरूबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख रुपैयाँ बिगो भराई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको छ। सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीबाट चार करोड ४८ लाख ९५९ बिगो भराउन, ५० हजार रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको सूचना अधिकारी भट्टराईले बताए।

सहकारीको व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी गंगाधर सुवेदीबाट दुई करोड ८३ लाख ७३ हजार २९५ रुपैयाँ बिगो भराउन, ५० हजार रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय गर्ने अदालतले आदेश गरेको छ। लीला भन्ने लीलाप्रसाद वलीबाट ८९ लाख २९ हजार ७२५ रुपैयाँ बिगो भराउन, ५० हजार रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको छ।

सहकारीका कर्मचारी किरण श्रेष्ठबाट ८६ लाख ३५ हजार ४५४ रुपैयाँ बिगो, ५० हजार रुपैयाँ जरिवाना गर्न र पाँच वर्ष कैद सजाय गरेको छ। गौरवकुमार श्रेष्ठबाट एक लाख २९ हजार ४९१ रुपैयाँ बिगो भराउन, ४० हजार रुपैयाँ जरिवाना गर्न र चार वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भट्टराईले बताए।

त्यसैगरी, सहकारीका कर्मचारी सुरतराम खटिकबाट ९८ लाख ४८ हजार २७४ रुपैयाँ बिगो भराउन, ५० हजार रुपैयाँ जरिवाना गर्न र पाँच वर्ष कैद, बलराम यादवबाट ५३ लाख ६९ हजार ६५२ रुपैयाँ बिगो, ५० हजार रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ।

सहकारीका खजुरा शाखाका प्रमुख सूर्यबहादुर विकबाट ३३ लाख ६० हजार ६८१ रुपैयाँ बिगो, ५० हजार रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ। सहकारीको लेखा समितिमा कार्यरत स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लीला शाहलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्ने आदेश गरेको छ।

सहकारी संस्थाका पूर्व अध्यक्षहरू सिद्धिकुमार महर्जनलाई दुई वर्ष ६ महीना कैद र पाँच हजार रुपैयाँ जरिवाना, अम्बरबहादुर खड्का र हरदेवबक्स चौधरीलाई पाँच–पाँच वर्ष कैद र ५०–५० हजार जरिवाना गर्ने आदेश दिएको छ।

यसैगरी, सहकारीका उपाध्यक्ष रवीन्द्र थापालाई तीन वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। सहकारीकी कर्मचारी शारदाकुमारी थापा मगरलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको आदेश भएको छ।

पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले अदालतको आदेशले पीडितलाई केही खुशी तुल्याएको बताए। “अब अदालतले तोकेको जरिवाना र बिगो रकम तिर्न आएमा सहमति हुन सक्छ,” उनले भने। -रासस

तपाईको प्रतिक्रिया