पारसले खाने लागुऔषध ’आइस ड्रक्स’ कसरी आयो नेपाल ?

काठमाडौँ । काठमाडौँस्थित छाउनीमा रहेको ‘द फुड हेवन रेस्टुरेन्ट’मा युवाहरू मिस्री जस्तो देखिने बस्तुमा झुमिरहेको देखिन्थे । धेरै दिनदेखि युवाहरू त्यही एउटै प्रकृतिको मजा लिइरहेको देखिएपछि प्रहरीले निगरानी बढायो ।
मिस्री जस्तो बस्तु घोल्ने र रेस्टुरेन्टमा बसेर पाइप लगाएर जुस खाए जस्तो देखेपछि प्रहरीले उनीहरूको गतिविधिलाई समेत ध्यान दिन थाल्यो । एकै समयकै एकै प्रकृतिको गतिविधि गर्ने र आफैले ल्याएको सामान पानीमा स(साना टुक्रा राखेर पिउन थालेपछि प्रहरीले शङ्का र्गयो ।
अन्य गतिविधि समेत असामान्य बन्दै गएपछि प्रहरीले दुई दिन अघि उनीहरूलाई मेथा फेटामाईन (आइस ड्रक्स) सहित ६ जनालाई नियन्त्रणमा लियो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले उनीहरूलाई पक्रेको हो । उनीहरूबाट ७३ लाख ४९ हजार रुपैयाँ बराबरको आइस ड्रक्स बरामद र्गयो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बालुवाटारका सरोज सिलवाल, काभ्रेका सुजन तामाङ, थापाथलीका दीपेन्द्र श्रेष्ठ, कालिमाटीका शिशिर काले भनिने अनिल भुजेल, सिनामंगलका रञ्जित तिवारी र कालिमाटीका नवीन मानन्धर पक्राउ परेका हुन ।
पक्राउ परेकाहरू पहिले देखिनै लागु औषध सेवन कर्ता भएको र ‘पार्टी ड्रक्स’को रूपमा प्रयोग गर्दै आएका थिए । उनका अनुसार प्रहरीले मेथा फेटामाइन (आइस ड्रक्स) ७ सय ४४ ग्राम बरामद गरेको छ ।
अनुसन्धान अधिकारीका अनुसार यो लागू औषध प्रति ग्राम १० हजार रुपैयाँको दरले विक्री हुने गर्छ । आइस ड्रग्स प्रयोग गर्न चाहिने पाइप ४५ वटा, प्लाष्टिकको भाँडो, डिजिटल मेसिन लगायत पनि प्रहरीले बरामद गरेको थियो । प्रहरीले यो विषयमा थप अनुसनधान गरिरहेको छ । ‘ लामो समयपछि आइस ड्रक्स बरामद भएको छ यो विषयमा थप अनुसन्धान भइरहेको छ’, एसएसपी ज्ञवालीले भने ।

के हो आइस ड्रक्स ?
यसलाई मेथा फेटामाइन भनिन्छ । खास गरी फिटकिरी जस्तो, मिस्री वा चिनी जस्तो बनाएर खान मिल्ने लागुऔषधलाई आइस ड्रक्स भनिन्छ । कतिपय यसलाई पिउने पानीसँग खाने गरेका छन् । लागुऔषधको लतमा फसेका युवा युवतीहरूले यसलाई पिउने पानीसँग प्रयोग गर्छन् ।
लागुऔषधका विज्ञ पूर्व डिआइजी हेमन्त मल्लका अनुसार नेपालमा ट्याब्लेटका रूपमा पनि प्रयोग ल्याइएको अवस्थामा केही व्यक्तिहरू पक्राउ परेका थिए । तर पछिल्लो पटक युवा युवतीले यसलाई चिनी वा मिस्रीका रूपमा प्रयोग गर्दे आएका छन् ।
डिआइजी मल्लका अनुसार २०५६ सालतिर यो ड्रक्स नेपाल भित्रिएको हो । त्यति बेला बर्माबाट नेपाल आएको सो ड्रक्स बालाजु, नयाँ बजार, लैनचौर क्षेत्रमा बढी भेटिन्थ्यो ।

पारसले समेत प्रयोग गर्थे
बैंककमा बसेर एक नेपालीले अर्बौँको ‘आइस ड्रक्स’ तस्करी गर्दै आएको अवस्थामा पूर्वयुवराज युवराज पारस शाहले समेत यसको प्रयोग गरेको खुलेको थियो । विसं २०७३ सालमा धादिङ घर भएका धर्म पाख्रिन तामाङले म्यानमारबाट एम्फेटाइमान नामक महँगो लागुऔषधको विश्वभरि तस्करी सञ्चालन गर्दै आएका थिए । त्यही क्रममा उनी सहित सहयोगी धादिङ सत्यदेवी घर भएका नेत्र गुरुङ र चित्र तामाङलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो ।
बैंककबाट नयाँ वर्षका लागि भनेर उनीहरूले ३ सय २ ग्राम आइस ड्रग लिएर नेपाल आएका थिए । सो लागु औषध ९० लाख ६० हजार रुपैयाँ बराबरको थियो । त्यति बेला बैंककमा रहेका धर्म पाख्रिनले नै पारसलाई आइस ड्रक्स दिएको र थाइ प्रहरीले पारसको साथबाट लागु औषध अन्तर्गत आइस ड्रक्स बरामद गरेको थियो । थाई प्रहरीले पारसलाई कारोबारीकै रूपमा मुद्दा चलाउने तयारी समेत गरेको थियो । पछि नेपाली दूतावासको सहयोगमा सामान्य लागुऔषको मुद्दा चलाइएको थियो ।

श्राेत नागरिकखवर

तपाईको प्रतिक्रिया