सुर्खेत । सुर्खेतमा भोलि शुक्रबार साँझ सांगीतिक साझ हुँदैछ । श्री ज्योति फाउन्डेशनको आयोजनामा हुने सांगीतिक साँझको सम्पूर्ण तयारी पुरा भएको छ ।
भोलिब बेलुका ४ बजेदेखि वीरेन्द्रनगरस्थित सभाहलमा हुने सांगीतिक साँझ कार्यक्रममा चर्चित गायक तिलक सिंह पेला (के लत बस्यो मलाई…), राजसिग्देल (उ जितेर गई या हारेर गई…), शिशिर योगी (कर्णालीपारि छैन खेतबारी…) का साथै बागीना समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रस्तुति रहनेछ । यस्तै कार्यक्रममा प्रमुख अतिथि खलंगामा हमला पुस्तकका लेखिका, मदन पुरस्कार विजेता सामाजिक अभियन्ता राधा पौडेल रहने पनि आयोजकले जनाएको छ ।
सांगीतिक साँझको आयोजना गरी भूकम्प प्रभावित जिल्लाहरुका बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न लागिएको श्री ज्योति फाउन्डेशनको अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन । उनका अनुसार कार्यक्रममा भूकम्प भोगेका छोरीहरुले आफ्ना अनुभव पनि सुनाउने छन् ।
आयोजकले आर्थिक व्यवस्थापनको लागि कर्णाली प्रदेशका मनकारी व्यक्तित्वहरुबाट प्रत्यक्ष सहयोग पुग्नेगरी सहयोग रसिद रु. २००० र रु. १००० को टिकट गरी जम्मा अनुमानित १५,००,००० (पन्ध्र लाख) पुग्ने गरी टिकटहरु वितरण गरिएको साथै सरकार तथा विभिन्न सामाजिक संस्थाहरुमा आर्थिक सहयोगका लागि प्रस्तावना पेश गरिएकाले कार्यक्रमबाट अनुमानित ३५ लाखको सहयोग रकम उठ्ने लक्ष्य लिएको पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।


दर्शन खबर । १४ मंसिर २०८०, बिहीबार