कालीकोट कालीकोटका छ वटा पालिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्था छ । अहिले पनि खाँडाचक्र, तिलागुफा र रास्कोट नगरपालिका तथा सान्नीत्रिवेणी, शुभकालीका, महाबै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्ने गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालीकोटका यी छ वटा पालिकामा अझै प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ (४) मा भएको व्यवस्था अनुसार मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्ने हुन्छ । कतिपय पालिकाले दरबन्दी अनुसार प्रमुख प्रशासकीय पाए पनि ती धेरै समय टिक्दैनन् भने कतिपय अहिलेसम्म निमित्तकै भरमा छन् ।
नौ वटा पालिका रहेको कालीकोटमा खाँडाचक्र नगरपालिकामा निमित्त प्रशासकीय अधिकृतको रूपमा प्रवलजंग शाही कार्यरत हुनुहुन्छ । यसैगरी रास्कोट नगरपालिकामा जवानसिंह बम गएको तीन वर्षदेखि पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा हुनुहुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बीचमा दुई पटक प्रमुख प्रशासकीय अधिकृत पठाएको भए पनि उनीहरू लामौ समय कार्यरत रहन सकेनन् ।
शुभकालीका गाउँपालिकामा छैटौँ तहका कर्मचारी गणेश बहादुर शाही निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । शाहीले गएको पुसबाट निमित्तको जिम्मेवारी सम्हाल्नु भएको हो ।
महावै गाउँपालिकामा पनि छैटौँ तहका कर्मचारी प्रकाश शाहीले एक महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनु भएको छ । त्यस्तै छैटौँ तहका कर्मचारी नेत्रराज शाही २०७६ सालदेखि सान्नी त्रिवेणी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको लागि आठौँ तहको दरबन्दी हुने व्यवस्था छ । तर मन्त्रालयले भनसुनको आधारमा छैटौँ तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । त्यस्तै तिलागुफामा पनि सातौँ तहका कर्मचारी लालबहादुर मल्ल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।
यसैगरी रास्कोट र खाँडाचक्र नगरपालिकाले पनि अहिलेसम्म दरबन्दी अनुसारको प्रशासनिक नेतृत्व पाएको छैन । कर्मचारीले दुर्गममा काम गर्न इच्छा नदेखाउने भएका कारण कालीकोटका धेरैजसो पालिकाले दरबन्दी अनुसार प्रशासकीय प्रमुख पाएका छैनन् । यहाँको नरहरिनाथ गाउँपालिका, पलाँता गाउँपालिका, तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकामा भने दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् । थाहाखबर


दर्शन खबर । १३ मंसिर २०८०, बुधबार