तीन वर्षभित्र कर्णाली उज्यालो हुन्छ : कुलमान घिसिङ

जुम्ला । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको तीन वर्षभित्र कर्णाली उज्यालो गर्ने योजना रहेको बताएका छन्। उनले जुम्लासहित कर्णाली उज्यालो गर्ने योजनामा नेपाल विद्युत प्राधिकरण लागेको जानकारी गराए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले कर्णालीका विद्युत क्षेत्रको स्थालगत अनुगमन गरी जुम्ला उज्यालो गर्ने कुरामा यहाँका सरोकारवालाबीच अन्तरक्रिया पनि गरेको छ।

जुम्ला पुगेका कार्यकारी निर्देशक घिसिङले कोहलपुर, सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्मको १३२ केभी क्षमताको विद्युत प्रशारण लाइन अगाडि बढाउन शुरु भइसकेको बताए।

उनले भने, ‘विशेषगरी जुम्ला आउने छोटो मार्गबाट कसरी ट्रान्समिसन लाइन छिटो पुरयाउने भन्ने विषयमा जोड दिइएको छ। अहिले जुम्लामा कालिकोटबाट जोडिएको ३३ केभीबाट ११ केभी लाइन जोडिएको तर यसको सेवा प्रभावकारी छैन । जुम्ला पुर्याउन छोटो बाटो दैलेखबाट १३२ केभी प्रशारण लाइनबाट नै कर्णालीलाई उज्यालो अभियानमा जोड्न सकिन्छ।’

जुम्लामा घिसिङसहित वैकल्पिक उर्जाका प्रबन्धक नारायण अधिकारीले दातृ निकाय एडिबीका पुष्कर मानन्धर, नर्वेजीयन राजदूतावासका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरण कर्णालीका प्रमुखसहितको टोली जुम्ला पुगेर जनप्रतिनिधि र सरोकारवाला निकायका बीचमा अन्तरक्रिया गरेका छन्।

उनका अनुसार कर्णाली उर्जा ईकोनोमिक करिडोर बन्ने योजनाका साथ १३२ केभी यहाँको भविश्यसँग जोडिएको बताए । कार्यकारी निर्देशक घिसिङले यस क्षेत्रमा विद्युतले उज्यालो बनाउने मात्रै नभइ यहाँको आर्थिक समृद्धिमा सघाउ पुग्ने बताए।

जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले जुम्ला ११ केभी प्रशारण लाइन क्षमताबाट नागरिक असन्तुष्ट रहेको बताए। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले पर्याप्त विद्युतको अभावमा नागरिकको दैनिकीमा असर परेको बताए।

जुम्लामा ५० प्रतिशत बिजुली पुगेकोको बताइएको छ। जुम्लाबाट फुकोट कर्णालीको ४०० मेगावाटको विद्युत पनि जोड्ने योजना रहेको छ। प्राधिकरणका अनुसार दैलेखपछि कालिकोटको राचुली, जुम्लाको श्रीढुस्कामा सवस्टेशन स्थापना गरी सेवा प्रवाह गरिने छ।

यसका साथै जुम्लाको चुकेनी, गिरी खोला, ठिन्केलगायतका साना हाइड्रो पावरलाई पनि एकिकृत गरिने गरिने छ।


तपाईको प्रतिक्रिया