गाजामा विद्यालयलाई लक्षित गरी क्षेप्यास्त्र र तोप आक्रमण

गाजा सहरको एउटा विद्यालयमा भएको आक्रमणमा ५० जनाको ज्यान गएको अल–सिफा अस्पतालले जनाएको छ ।

गाजाको अल–नासर नजिकै रहेको अल–बुराक स्कुललाई लक्षित गरी हिजो क्षेप्यास्त्र र तोप आक्रमण भएको थियो । आक्रमणमा ५० जना मारिएका अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले बताउनुभएको छ ।

घटनाको बारेमा थप विवरण पुष्टि गर्न नसकेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । यसैबीच इरानी र कतारी विदेशमन्त्रीले गाजामा इजरायली आक्रमण अन्त्य गर्ने राजनीतिक तरिकाबारे छलफललाई निरन्तरता दिएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार इरानी विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र उहाँका कतारी समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले गाजामा गरिएको इजरायली आक्रमणको कडा निन्दा गर्दै प्रतिकूल मानवीय अवस्थाको बारेमा गहिरो चिन्ता समेत व्यक्त गर्नुभएको छ । उहाँहरूले गाजामा तत्काल युद्धविराम गर्न र मानवीय सहायताको निरन्तर वितरण र सम्भावित युद्धविराम घोषणा गर्ने उपायबारे पनि छलफल गर्नुभएको खबरमा उल्लेख छ ।

महिना दिन लामो इजरायल–हमास द्वन्द्वबाट गाजामा ११ हजारभन्दा धेरै प्यालेस्टाइनीको ज्यान गइसकेको छ भने, इजरायली एक हजार चार सयभन्दा धेरैले ज्यान गुमाएका छन् । हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमणमा गरेको थियो ।

तपाईको प्रतिक्रिया