राहत कुर्दै भूकम्प पीडित : पानी परेपछि थप चिन्ता

जाजरकोट ।  भूकम्पपछि घरबासविहीन भएका भूकम्प प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन सकेका छैनन् । कसैले एउटा त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई/दुई पटकसम्म दिएको पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले गुनासो गरीन ।

सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्नेहरु पनि समस्यामा परेका छन् । उनीहरुले राहत नपाएको गुनासो गरेका छन् । चिसो बढ्न थालेको छ । त्रिपालविना खुला चौरमा बसिरहेका पीडितलाई रुघाखोकी र ज्वरोले सताउन थालेको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताए ।

बारेकोट गाउँपालिका–१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन । बारेकोट चिसो ठाउँ हो । स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखिन थालेको बताए । भूकम्पको केन्द्रबिन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो । तर अहिलेसम्म सबैलाई पुग्ने गरी त्रिपाल पुगेको छैन ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको स्वीकार गरेका छन् । उनका अनुसार बारेकोटमा अझै एक हजार सात सय थान त्रिपाल अपुग छ । नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन । नगरपालिकाको वडा नम्बर एकदेखि सातसम्म राहत वितरण गरिए पनि वडा नम्बर आठ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन् ।

प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरेको र आफूहरु थप पीडित भएको प्रभावितको गुनासो छ । भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ । बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन् ।

आज बिहान परेको पानीले प्रभावितलाई थप समस्या भएको छ । भूकम्पले चिराचिरा पारेको घर ठूलो पानी परे भत्कने चिन्ता पनि थपिएको छ । गएको शुक्रवार राति जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार भूकम्पले जाजरकोट, रुकुमपश्चिमसहित १३ वटा जिल्लामा २६ हजार ५ सय ५७ घरमा पूर्णरुपमा र ३५ हजार ४ सय ५५ घरमा आंशिकरुपमा क्षति पुगेको छ । सरकारले तिहार लगत्तै भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम थाल्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया