बडादशैँको आज पहिलो दिन । आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिएको छ । वसन्तपुरमा रहेको दशैँ घरमा पनि वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ ।
यव अर्थात् जमरा अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।


दर्शन खबर । २८ आश्विन २०८०, आईतवार