वीरेन्द्रनगर ३ का वडाध्यक्ष विष्ट पाँच लाख धरौटीमा रिहा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष विनोदसिं विष्ट धरौटीमा रिहा भएका छन् । बिहीवार उच्च अदालत सुर्खेतले विष्टलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उपभोक्ता समितिको रकम जफत गरेको आरोपमा जिल्ला अदालत सुर्खेतले विष्टलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदातलको उक्त आदेशविरुद्ध विष्ट उच्च अदालत पुगेका थिए ।
साथै जिल्ला अदातलले पुर्पक्षका कारागार चलान गरेका सुशील गुरुङ भनिने प्रेम गुरुङ र बलिराज शाहीलाइ पनि रिहा गर्न आदेश दिएको उच्च अदालत सुर्खेतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए ।
उनकाअनुसार गुरूङबाट चार लाख र शाहीबाट दुइ लाख धरौटी माग गरिएको अदालतले आदेशसमेत दिएको छ ।
वडाध्यक्ष विष्टसहित तीन जनालाई गत साउन २१ गते सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तिनै जनालाइ डाँका चोरी अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा तानिएका यामराज शाही र सन्तोष थापाबाट जिल्ला अदालतले जनही दुई–दुई लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।
गत असार २४ मा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
तर उच्च अदालतले पुर्पक्ष लागि कारागारमा राखि राख्न आवश्यक नरहेको आदेश दिएपनि यो मुद्दाको अन्तिम फैसला भने भइसकेको छैन् ।


तपाईको प्रतिक्रिया