झन्डै ९ किलाे चरेससहित दार्चुलामा २ जना पक्राउ

दार्चुला । झन्डै नाै किलाे चरेसहित दार्चुलामा दुई जना पक्राउ परेका छन् । आज मङ्गलवार शैल्यशिखर नगरपालिका–९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनीहरूको साथबाट आठ किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । इन्स्पेक्टर सिंहका अनुसार धामीको साथबाट छ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएकाे हाे ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उनीहरूकाे साथबाट चरेस बरामद गरेकाे हाे । अहिले उनीहरूलाई गोकुलेश्वरबाट जिल्ला सदरमुकाम ल्याउन लागिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया