नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको लोगो सार्वजनिक

सुर्खेत ।   नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले उक्त लोगो सार्वजनिक गरेका हुन् । आगामी असोज १० र ११ गते वीरेन्द्रनगरमा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक भएको हो ।

 

असोज १० र ११ गते वीरेन्द्रनगरमा अधिवेशन सम्पन्न हुने भएकोले लोगोमा सुर्खेतको काँक्रेविहारलाई पनि प्रस्तुत गरिएको छ । कर्णालीका ताल तथा अन्य कुराहरुलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । लोगोमा पार्टीको लाल झण्डा पनि फहराइएको छ । लोगोमा रातो, सेतो, निलो, पहेँलो लगायतको रंग समावेश भएको छ । यस्तै मुगको रारा ताल, तालको छेउको हिमाल माथिबाट सूर्य उदाएको जस्तो देखाइएको छ ।
प्रदेश अधिवेशनको तयारीका लागि प्रदेश इञ्चार्ज, प्रदेशका पदाधिकारी, कर्णाली प्रदेशका केन्द्रीय सदस्य र एमाले कर्णालीका नेता कार्यकर्ता तोकिएको जिम्मेवारीअनुसार काममा जुटेका छन् । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १० गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहने भएको छ । अधिवेशनको प्रतिनिधि छनोट अनुपात भूगोल खुलातर्फ १०० पार्टी सदस्य बराबर १ हुने, दलिततर्फ ७५ पार्टी सदस्य बराबर १ जना प्रतिनिधि हुने र छनोट भएका प्रतिनिधिमध्ये एकतिहाइ महिला संख्या अनिवार्य हुनुपर्ने बताइएको छ । प्रतिनिधि छनोटको आधार भूगोलका लागि पालिका र दलिततर्फका लागि प्रदेश निर्वाचन क्षेत्र रहने छ । एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गर्ने भएको छ । नेतृत्व चयनका लागि जतिसक्दो सहमतिको प्रयास हुने इन्चार्ज भट्टले बताएका छन् ।

तपाईको प्रतिक्रिया