काठमाण्डौ । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएको छ । शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दा १७ बलमानै लक्ष्य पूरा गरेको थियो ।
मलेसियाको क्वालालम्पुरमा बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्यो । नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाइन् । बहराइनले १३ अतिरिक्त रन दियो । बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५ ओभर ४ बलमा ३१ रनमै अलआउट भयो । बहराइनका लागि रसन्गिका हेरथले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालका इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, पूजा महतो र रुबिना क्षेत्रीले १/१ विकेट लिइन् । बहराइनका दुई जना खेलाडी रन आउट भए । पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको नेपाली टोली आज लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो जितसँगै नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।


दर्शन खबर । १५ भाद्र २०८०, शुक्रबार