अझै सम्पर्कमा आएनन् नेपाली सेनाका गुल्मपति

सुर्खेत ।  डोल्पाका नेपाली सेनाको नन्द बक्स गुल्मपति मेजर विमल पण्डित दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । पण्डित काठमाडौंको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् ।
गुल्मपति मेजर विमल पण्डित आइतबार साँझदेखि सम्पर्कविहीन भएको र अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।

 

उनी आइतबार अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको प्रजिअ पोखरेलले जानकारी दिए ।
एकाएक सम्र्पक विहिन भएका पण्डितलाई ‘हामीले उहाँ हराएको जानकारी पाउँनसाथ खोजिकार्य गरिरहेका छौं । हिजो रातभरी पनि खोजीकार्य जारी नै राख्यौं,’ प्रजिअ पोखरेलले भने, ‘अहिलेसम्म सम्पर्कमा हुन सकिरहेको छैन । के कति कारणले उहाँ सम्पर्कविहीन हुनुभयो भन्ने पनि जानकारी पाउन सकिएको छैन ।’
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङका लागि सेनाको टोली निस्किएको थिए । त्यसपछि उनले पीएसओलाई फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको बुझिएको पोखरेलले बताए ।
खोजतलासका लागि नेपाली सेना र नेपाल प्रहरीले सोमबारदेखि निरन्तर प्रयास गरिरहेको प्रजिअ पोखरेलले बताए । साथै जिल्लाका निकायहरुमा पनि निगरानी गरिएको उनले बताए ।


तपाईको प्रतिक्रिया