ललिता निवास जग्गा प्रकरणमा तीन सय ७ जना प्रतिवादी बनाएर आज मुद्दा दायर

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तीन सय ७ जनालाई प्रतिवादी बनाएर आज मुद्दा दायर हुँदैछ । जसमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेत छन् । हिनामिनामा संलग्न रही पक्राउ परेका र अहिले फरारसहितलाई प्रतिवादी बनाएर आज सरकारी वकिल कार्यालयले कीर्ते र सङ्गठित अपराधका दफासहित अदालतमा मुद्दा दायर गर्दैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई सय ३८ कसुरदार, ४८ जना जग्गाधनी र २१ जना मृतकलाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइसकेको हो  ।

जग्गा हिनामिना भएको प्रकरणमा निणर्य प्रक्रियामा सामेल भएका उच्च पदस्थ भने दोष अरूलाई पन्छाएर उम्किएका छन् । तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा तत्कालीन मुख्य सचिव लीलामणि पौड्याल अनुसन्धानकै चरणबाट उम्किने देखिएको छ भन तत्कालीन उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, सचिवहरु दीप बस्न्यात, नारायणगोपाल मलेगो, छविराज पन्त, दिनेश अधिकारी, युवराज भुसाल र रविन्द्रमान जोसीसहितका कर्मचारीलाई कीर्ते कागजका आधारमा टिप्पणी उठाउने, सदर गर्ने र मन्त्रिपरिषदमा पेस गरेको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया