ऊर्जा र अर्थ मन्त्रालयबीच सहमति नहुँदा घरको मुआब्जा पाएनन्

सुर्खेत ।   अन्तर मन्त्रालय सहमति नहुँदा जाजरकोटस्थित नलगाड जलविद्युत् आयोजनाका प्रभावितले मुआब्जा पाउन सकेका छैनन् ।
तीन वर्षअघि नै मुआब्जा दिने भनिए पनि ह्रास कट्टीमा सहमति नहुँदा यो समस्या बल्झिएको नलगाड सरोकार समितिका संयोजक तथा पूर्व मन्त्री गणेशप्रसाद सिंहले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेपछि अर्थले सहमति नदिएको हो ।
आयोजनाले ५०३ घरधुरीलाई झण्डै ९० करोड रकम उपलब्ध गराउनुपर्ने उल्लेख छ । अर्थ मन्त्रालयले ह्रास कट्टी गरी रकम दिन खोजेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने ह्रास कट्टी नगरी मुआब्जा दिनुपर्ने उल्लेख गरेको छ ।

ह्रास कट्टी गरेमा सुरुको घरको मूल्यभन्दा घटेको मूल्य नलगाड र बारेकोटवासीले पाउनेछन् । ह्रास कट्टी नगरेमा घरधनीले सुरुकै मूल्य पाउनेछन्।
नलगाड नगरपालिकाभित्रका वडा नम्बर २, ५, ७ र ८ र बारेकोट गाउँपालिका १, २, ५, ६, ७, ८ र ९ का सर्वसाधारण आयोजनाबाट प्रभावित हुनेछन्। आयोजनाले १ हजार ५९० मिटर उचाइसम्मको घरको मात्र मुआब्जा दिन विवरण तयार गरेको छ। उक्त उचाइसम्म जम्मा ५०३ घरधुरी छन्।
दोस्रोपटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अर्थसँग ह्रास कट्टी नगरी मुआब्जा दिन सहमति मागे पनि अर्थले जवाफ नदिएकाले मुआब्जाको विषय रोकिएको हो ।
परामर्शदाताले तयार पारेको विवरणअनुसार वातावरणीय प्रभाव मूल्यांकनको रिपोटले १ हजार १७२ घरधुरी प्रभावित हुने औँल्याएको छ।

 

 

प्रभावित क्षेत्रका बासिन्दाले थातथलो छोडेर जानुपर्ने भएकाले ह्रास कट्टी नगरी मुआब्जा दिनुपर्ने माग गरेका छन् । यो विषयमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन।

जग्गाको मुआब्जा भने आयोजनाले वितरण गरिसकेको छ । ७ वर्ष लगाई डिपिआरको काम पूरा भएपछि डिपिआर स्वीकृत हुने क्रममा छ। आयोजनाका निवर्तमान प्रमुख सुनिल पौडेलले हाइड्रोलोजी, विद्युत् उत्पादन गृहको प्रतिवेदनमा आफूले हस्ताक्षर गरिसकेको बताए । बाँकी डिपिआर स्वीकृतिको काम नयाँ कार्यालय प्रमुख आएपछि हुने ऊर्जा, जलस्रोत तथा सिँचाइका उपसचिव गणेशविक्रम शाहीले बताए । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले प्रभावित क्षेत्रका सर्वसाधारणले माग गरेअनुसारकै मुआब्जा दिने गरी काम हुने बताए ।

तपाईको प्रतिक्रिया