टेन्डरमा ढिलाइ हुँदा रित्तिँदै खाद्य गोदाम

सुर्खेत । कर्णाली   प्रदेश कार्यालयको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोदाममा अत्यावश्यक मौज्दातबाहेक चामल सकिएको छ । गोदाम रित्तिए पनि थप खाद्यान्न आपूर्ति हुन सकेको छैन। प्रादेशिक कार्यालयले २० हजार क्विन्टल चामल माग गरे पनि टेन्डर प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन नसकेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार माग गरिएको चामल समयमा पु-याउन सकिएको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु, भारतले चामल आयातमा प्रतिबन्ध लगाउनु र टेन्डर प्रक्रियामा ढिलाइले खाद्य आपूर्तिमा विलम्ब भएको हो ।

 

 

उनका अनुसार प्रदेशमा पठाउने आठ हजार क्विन्टलका लागि सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । बाँकी १२ हजार क्विन्टल चामल ढुवानीका लागि टेन्डर खुलाइएको छ । दुर्गममा खाद्य अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको बताए । प्रादेशिक कार्यालयमा ७५० क्विन्टल चामल मौज्दात रहेको छ । गोदाम रित्तिएसँगै अन्य चालम बिक्रीवितरण गरिएको छैन । यसले गर्दा चामल खरिदका लागि आएका नागरिक रित्तै घर फर्किनुपर्ने अवस्था भएको हो । अघिल्लो वर्ष यो समयमा कार्यालयमा १२ हजार क्विन्टल चामल मौज्दात रहने गरेको थियो ।

प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रका अनुसार माग गरिए अनुसार खाद्य आपूर्ति नहुँदा सहज रूपमा चामल बिक्री गर्न नसकिएको बताए । मौज्दातबाहेक गोदाममा चामल छैन । प्रक्रिया अघि बढेकाले अबको केही दिनमा चामल गोदाममा आइपुग्ने बताए । खाद्यमा चामल नभएपछि बजारबाट महँगोमा चामल किनेर उपभोग गर्नु परेको स्थानीय जोगी सुनारले बताए । उनले भने, “खाद्यको गोदाममा चामल लिन पुगेको थिएँ। चामल नपाएपछि रित्तै फर्किएँ।”


तपाईको प्रतिक्रिया