कर्णालीका प्रहरी नै असुरक्षित

सुर्खेत ।  समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिने प्रमुख दायित्व बोकेको प्रहरी कर्णालीमा जोखिमपूणर् अवस्थामा रहेका छन् । प्रहरी कार्यालयका धेरैजसो भवन जीणर् छन् भने कतिपय स्थानमा प्रहरीका आफ्नै संरचनासमेत छैन । तथ्याङ्क अनुसार कर्णालीका २५ प्रतिशत प्रहरी इकाईका लागि मात्रै आफ्ना भवन छन् । प्रदेशमा रहेका ३०८ प्रहरी इकाईमध्ये १७२ इकाईका जग्गा छन् भने १३६ वटा इकाई जग्गाविहीन छन् । त्यसैगरी भवन भएका प्रहरी इकाईहरू ७९ वटा छन् भने २२९ वटा प्रहरी इकाईहरूको भवन छैन । भवन नभएका २२९ प्रहरी इकाईमध्ये १०१ वटा भाडामा छन् । यस्तै ११५ वटा प्रहरी इकाई सहयोगमा बसेका हुन् । उल्लेखित तथ्याङ्कले अरूलाई सुरक्षा दिने प्रहरी नै सुरक्षित नरहेको देखाउँछ ।

प्रदेश प्रहरी कार्यालय स्वयंले नै भौतिक संरचनाको दृष्टिले कर्णाली प्रदेशमा प्रहरी कार्यालयहरूको अवस्था सन्तोषजनक नरहेको निष्कर्षमा निकालेका छन् । प्रदेशमा लगभग ४५ प्रतिशत प्रहरी इकाईहरूका लागि भौतिक संरचना निर्माण गर्न आफ्नो जग्गा नरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

‘अधिकांश प्रहरी इकाईका आफ्नै भौतिक संरचनाहरू छैनन् भने भएकामध्ये पनि जीणर् र पुराना छन्,’ भट्टराईले भने, ‘कतिपय इकाईका संरचना मर्मत सम्भारको अभावका कारण बस्नयोग्य छैनन् ।’

 

 

भूकम्पीय जोखिम र प्राकृतिक प्रकोपजन्य खतराले पनि कर्णाली प्रदेशका भौतिक संरचनाहरू बस्न वा कार्यालय सञ्चालन गर्न उपयुक्त नभएको उनको भनाइ छ । यस अर्थमा कर्णाली प्रदेशको प्रहरीले सामना गर्नुपरेका मुख्य चुनौतीमध्ये सुरक्षित, सुविधायुक्त र पर्याप्त भौतिक संरचनाहरूको अभाव एक हो ।

‘जोखिम मोलेर बस्नुपर्दा प्रहरीको मनोबल त घट्ने नै भयो, उपयुक्त कार्य वातावरण नहुँदा सेवा प्रवाह सहज रूपमा हुन सक्दैन,’ उनी भन्छन्, ‘प्रहरीको छुट्टै संरचना चाहिन्छ, त्यसमा विभिन्न कक्ष राख्नुपर्छ । गैर प्रहरी प्रयोजनका लागि बनेका घरहरूमा बस्दा प्रहरीलाई सहज वातावरण नै हुँदैन । भाडामै बसेको घर भए पनि विभिन्न कक्ष लगायतका सुविधा हुँदैनन् । यसले सेवा प्रवाहमा समस्या आउँछ नै ।’

प्रदेश प्रहरी कार्यालय र मातहत गरी कर्णालीमा ११ वटा प्रहरी कार्यालय छन् । अहिले थप ६ वटा प्रहरी कार्यालय स्थापना गरिएको छ । उनका अनुसार अस्थायी प्रहरी पोष्टका रूपमा दैलेख चामुण्डाबिन्द्रासैनीको हाडाकोट र महावु गाउँपालिकाको काशीकाँध, मुगुको माझघट्ट, हुम्लाको सल्ली सल्ला र गोठिल्लाबाडा, डोल्पाको फोक्सुन्डो रिग्मा गरी ६ वटा नयाँ प्रहरी इकाई स्थापना गरिएको छ । कर्णालीमा असुरक्षित संरचनाका बाबजुद पनि जोखिम मोलेर प्रहरीले शान्ति सुरक्षा दिइरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया