मजदुर दिवसका दिन उपराष्ट्रपति पुन ‘ग्रीन हाउस’ सरे

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा निवास सरेका छन् । उनी अन्तर्रा्ष्ट्रिय मजदुर दिवसको अवसर पारेर बस्दै आएको गैह्रीधारा स्थित सरकारी निवासबाट आज विहान लैनचौर स्थित उपराष्ट्रपति भवनमा सरेका हुन् ।
उनी आज विहान ७ः४५ बजे उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको छ । मन्त्री परिषदले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि सञ्चालनमा ल्याउने निर्णय गरेको ८ महिनापछि उपराष्ट्रपति त्यहाँ सरेका हुन् ।
गत भदौ २१ को बसेको मन्त्री परिषद् बैकठले उपराष्ट्रपतिको कार्यालय तथा निवास सम्बन्धी निर्णय गरेको थियो । उपराष्ट्रपतिको नीजि सचिवालयका अनुसार वातावरण मैत्री हरियो रङले रङ्ग्याइएका कारण उपराष्ट्रपति भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ ।
उपराष्ट्रपति सामान्य मर्मत सम्भारपछि लैनचौर सरेका हुन् । उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय भने केहीं दिनपछि मात्रै सर्ने जनाइएको छ ।
यसअघि उपराष्ट्रपतिज्यूको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ ।

तपाईको प्रतिक्रिया