जुम्ला । जुम्लाको काँचो स्याउ बजारमा गएपछि रोकथामका लागि सिफारिस अनिवार्य गरिएको छ । जनप्रतिनिधि, स्याउ उत्पादन गर्ने किसान, व्यापारी तथा जिम्मेवार कार्यालयका प्रमुखको सर्वदलीय बैठक बसेर स्याउ पूणर् रुपमा पाकेपछि मात्रै बजारमा लैजाने निणर्य गरिएको हो ।
व्यापारीले स्याउ खरिद गर्दा कृषि कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए । जुम्लाका केही स्थानीय पालिकाबाट काँचो स्याउ साउनको पहिलो हप्ता नै सुर्खेत बजारमा पुगेपछि स्याउको गुणस्तरबारे गुनासो आएको छ ।
स्याउ पूणर्रुपमा पाकेको, परिपक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निणर्य भएको कृषि कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए ।
स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न आठवटै पालिकालाई निर्देशन दिएको जिसस प्रमुख आर्चायले बताए । उनका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिसविना नै निर्यात गर्न नपाइने निणर्य भएको छ ।
काँचो स्याउ नै स्थानीय व्यापारीले खरिद गर्न थालेपछि रोक लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताए । जुम्लामा अहिले चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको तथ्याङ्कमा रहेको छ ।


दर्शन खबर । १८ श्रावण २०८०, बिहीबार