जाजरकोट । लगातारको वर्षाको कारणले गर्दा जाजरकोट-जुम्ला जोड्ने सुरुङ मार्ग सडक अवरुद्ध हुँदा अध्ययनमा अवरोध भएको छ ।
प्रस्तावित सुरुङ मार्गले जाजरकोटको कुसे गाउँपालिका-८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका-८, इमिल्चाघारी जोड्ने भएको छ । इटीको-टिएमएस रेज जेभीले सुरुङ मार्ग अध्ययन गरिरहेको छ ।
टिएमएस रेज जेभीका प्रमुख राजीव झाका अनुसार बाटोको अवरोधका कारण स्थलगत काम गर्न नसकिएको हो । अहिले कागजी काम कार्यालयबाटै भइरहेका छन ।
हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला, काइल्दापाखा र सिल्पाचौर हुँदै बारेकोट-जुम्ला जोड्ने सडक निर्माण गर्न लागिएको हो । पाँच महिनामा गर्नुपर्ने अध्ययनको काम भने बर्सातका कारण केही समय लम्बिने भएको छ ।
सुरुङ मार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमानसमेत अध्ययन हुँदै छ । सम्झौताका अनुसार आउँदो असोजसम्ममा अध्ययनको काम सक्नुपर्ने हुन्छ, तर अध्ययनको काम सुरु गरेको दुई महिना बितिसकेको छ । अहिलेसम्म फिल्डमा पुगेर काम भएको छैन । यो सुरुङ मार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट र जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुने भएको छ ।
कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार सुरुङ मार्ग निर्माणले आवतजावतमा निकै सहज हुने छ । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीका अनुसार दुरी र व्यापारका हिसाबले सुरुङ मार्ग नै उपयुक्त विकल्प हुने छ । जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो बाटो सुरुङ मार्ग नै हुने भएकाले यसलाई अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।


दर्शन खबर । ११ श्रावण २०८०, बिहीबार