बलात्कार आरोपी पक्राउ गर्न जाँदा प्रहरी माथि आक्रमण

कालिकोट । बलात्कार आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँलेले प्रहरी र पीडित परिवारमाथि आक्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरीमाथि गाउँलेले आक्रमण गरेका थिए ।
सोमबार विहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए । गाउँलेहरुको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य धनमान विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए ।

घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते विकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइते दुबैलाई हेलिकोप्टरमार्फत उद्दारको तयारी भइरहेको छ । घाइतेहरुको उद्दारका लागि गृह मन्त्रालयमा हेलिकोप्टर पठाइदिन पत्राचार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए ।
बलात्कार आरोपी बुढा हतियारसहित फरार भएका छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको निमित्त प्रहरी प्रमुख बमले नकारी दिए ।
प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका थिए । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो। त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि सोमबार विहान ४ बजे उनलाई पक्राउ गर्न ढुंगेलसहित चार जना प्रहरी टोली गएको थियो । प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउनेक्रममा गाउँलेले आक्रमण गरेका थिए । नागरिक न्युजबाट


तपाईको प्रतिक्रिया