आलुले ल्याएको उत्साह


चन्द्रा कंडेल, सुर्खेत । जुम्लाको चौधविस क्षेत्र । हालको पातारासी गाउँपालिका । जुम्लाका आठ पालिका मध्यको जटिल भूगोल र कठिन जीवनशैलीको क्षेत्र हो, पातारासी । जसरी ठुला डाँडाकाँटा र हिमालले पातारासी छोपिएको छ, त्यसैगरी लुकेका छन्, यहाँका महिलाका दुख, कष्टका कहानी । प्रकृतिले आलुका लागि उर्भरभूमी दियो तर डोकोमा आलु बोकेर बजार खोज्नुपर्ने बाध्यताले महिलालाई निकै कष्ट भोग्नुपर्यो । अहिले भने हिमालयन सहकारीले गाउँगाउँमै पुगेर किसानको आलु खरिद गर्दैआएको छ ।

व्यापारी घरमै पुग्छन्
सडक सञ्जाल जोडिनु पूर्व यहाँका महिला पैदल खलंगा पुगेर धानसँग आलु साट्थे, कतिपय आलु खाडलमै कुहिन्थ्यो । अहिले गाउघरँमै २५ रुपैंया किलोमा आलु धमाधम विक्रि भइरहेको छ । आलु किन्न व्यापारीहरु पनि घरदैलोमै पुग्छन् । जुम्लाको पातारासी गाउँपालिकाको आलुले बजार पाउँदा किसान उत्साहित भएका छन् । सहकारीले गाउँगाउँ बाट आलु खरिद गरेपछि पातारासीका महिलालालाई डोको बोकेर बजार खोज्नुपर्ने बाध्यता हटेको स्थानीय मायादेवी बुढाले बताइन ।
यहाँको आलु सुदुरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा निर्यात भइरहेको छ । ‘पातारासी गाउँपालिकाका सात वटै वडामा आलु उत्पादन हुन्छ । चैतमा रोपिने आलु वैशाखमा गोडमेल गरेर असोजमा संकलन गरिन्छ । हिँउदको समयमा घाम नलाग्ने ठाउँमा खाडल बनाई भण्डार गरिन्छ । यसो गर्दा आलु कुहिन पाउदैन ।’ स्थानीय माया बुढाले भनिन् । अहिले पातारासीका रिनि, पठमारा, बाँता गाउँबाट आठ सय क्विइन्टल आलु खरिद गरिएको छ । अन्य बस्ति बाट पनि खरिद गरिदै छ ।

अर्गानिक ब्राण्ड दर्ता
आलु जोनहरुले समेत पातारासी बाटै बिउ मगाउने गरेको हिमालयन बहुउदेश्यीय सहकारीका बजार व्यवश्थापक राजेन्द्र बुढाले बताए । ‘हिमालयन बहुउदेश्यीय सहकारीले आलुको अर्गानिक ब्राण्ड नै दर्ता गरेको छ, अहिले तत्कालै ६ सय क्विइन्टल आलुको माग छ, पातारासीका चार वटा वडाका दर्जन गाउँबाट आलु एकमुष्ट उठाइदै छ ।’ उनले भने ।
पातारासीको उर्थु चौतारामा १० टन भण्डारण क्षमताको आलु संकलन केन्द्र स्थापना गरिएको छ । बलौटो माटो भएको पातारासीभर आलु उत्पादन हुन्छ । गाउँ गाउँमा आलु संकलन केन्द्र स्थापना गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन । ‘महिलाको सामाजिक विकास सँगै आर्थिक रुपान्तरण पनि आवश्यक छ, अलिहे पनि महिला आर्थिक गतिविधिबाट टाढा छन्, तर पातारासीको अवश्था फरक छ, आलु उत्पादन र विक्रि वितरणमा महिला बढि सँलग्न छन् ।’ उपाध्यक्ष रोकायाले भनिन् ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार दुई हजार ६ सय ५० हेक्टरमा आलु खेती भइरहेको छ । आलु उत्पादनको ६० प्रतिशत हिस्सापातारासी गाउँपालिकाले मात्रै ओगटेको छ । यहाँको ५० प्रतिशत आलुबाहिर जिल्लामा बिक्री हुने गरेको छ ।कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार जुम्लामाकृषि क्षेत्रमा अथाह सम्भावना छ । यो मध्यको आलु एक हो ।

तपाईको प्रतिक्रिया