
सुर्खेत । वीरेन्द्रनगर–२ का अतिविपन्न ४१ परिवारलाई बाख्रा वितरण गरिएको छ । ‘लक्षित वर्ग कृषि प्राङ्गारिक प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत आइतवार उक्त वडामा ८२ वटा बाख्रा वितरण गरिएको हो । आर्थिक उपार्जनका लागि किसानलाई जनही दुई वटा बाख्रा दिइएको छ । विपन्न परिवारको जीविकोपार्जन तथा आर्थिक स्थितिमा सुधार होस् भन्ने उद्देश्यले किसानहरुलाई अनुदानमा बाख्रा वितरण गरिएको कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले बताइन् । बाख्रा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख गुरुङले सरकारी अनुदानको सदुपयोग गर्न किसानहरुलाई अनुरोध गरिन् । उक्त कार्यक्रम प्रदेशसभा सदस्यको लक्षित वर्ग अनुदान कार्यक्रमको बजेटबाट सञ्चालन गरिएको हो ।
प्रदेशसभा सदस्यका हैसियतले गुरुङले प्राप्त गरेको यो अनुदान वीरेन्द्रनग–२ का अतिविपन्न समुदायका लागि लगानी गरेकी हुन् । उनले लक्षित वर्गको उत्थानका लागि आफ्नो सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् । वर्षमा तीन महिनामात्र खाना पुग्ने अवस्थामा भएका लक्षित समुदायका अतिविपन्न परिवारको पहिचान गरी बाख्रा वितरण गरिएको छ । प्रति प्रदेशसभा सदस्य १० लाख रुपैयाँका दरले उपलब्ध हुने सो अनुदान लक्षित वर्गको उत्थानका लागि खर्च गर्नुपर्ने हुन्छ । बाख्रा वितरण कार्यक्रममा वीरेन्द्रनगर–२ का जनप्रतिनिधि, पशुपन्छी विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


दर्शन खबर । २७ चैत्र २०७९, सोमबार