
काठमाडौँ । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैँ छ ।
निर्वाचन आयोगका अनुसार तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि आज ९चैत २० गते० उम्मेदवारी दर्ता गर्न लागिएको हो। निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको आयोगले जनाएको छ ।
आज उम्मेदवारी दर्तापछि भोलि (चैत २१ गते) उम्मेदवारविरुद्ध उजुरी दिने, चैत २२ गते प्राप्त उजुरीबारे छानबिन गर्ने र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
यस्तै उम्मेदवारी फिर्ता लिन इच्छुकले चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यक्रम छ ।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ ।


दर्शन खबर । २० चैत्र २०७९, सोमबार