
कैलाली । सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले हाल नेपाल नेत्रज्योति संघको छातामा रही सुदरपश्चिम प्रदेशमा ३ वटा सेकेण्डरी आँखा अस्पताल र १८ वटा आँखा उपचार केन्द्रहरु सञ्चालन गरिरहेको छ । सबै स्थानीय तहमा कम्तिमा एक आँखा उपचार केन्द्र स्थापना गर्ने उद्धेश्य अनुरुप हाल सम्म अस्पतालले प्रदेशका ९ वटै जिल्लामा आफ्नो आँखा उपचार सेवालाई विस्तार गरिसकेको छ र निकट भविष्यमा यस प्रदेशका केहि स्थानहरुमा थप आँखा उपचार केन्द्र स्थापना हुने क्रममा रहेको छ । ९ वटै जिल्लामा आँखा उपचार केन्द्रहरु स्थापना भएको र करिब ८० प्रतिशत समस्याहरु त्यही केन्द्रहरु मार्फत समाधान हुने तथा केहि जटिल समस्या भएमा टेलिमेडिसिनको माध्यमबाट गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श र उपचार गरिने भएकोले थोरै मात्रै आँखाका बिरामीहरुलाई अस्पतालमा रिफर गर्ने गरेको बताउछन् अस्पतालका आउटरिच म्यानेजर रमेश चन्द्र भट्ट ।
गेटा आँखा अस्पतालमा आँखा परिक्षण गराउन आउने बिरामीको करिब ४० प्रतिशत बिरामी भारतिय नै हुन्छन्, भने अप्रेशन गराउन आउने बिरामीहरु मध्ये करिब ६० प्रतिशत भारतीय हुने गरेको छ । अस्पतालले नेपालीहरुका लागि सुदुर पश्चिम प्रदेशका ३ स्थान महेन्द्रनगर, डडेलधुरा र टीकापुरमा विशेषज्ञ चिकित्सक सहितको सेकेण्डरी स्तरका अस्पतालहरु स्थापना गरी सेवा प्रवाह गर्नको साथै धनगढीमा हप्तामा एक पटक र कंचनपुरको बेलौरीमा महिनामा एक पटक शल्यक्रिया सेवा प्रदान गरी रहेको र स्थानियस्तरमा गई शिविरहरु समेत सञ्चालन गर्ने हुनाले अस्पातलमा हुने शल्यक्रियामा नेपाली भन्दा भारतीय नागरिकहरु नै बढी हुने आंकलन गरिएको छ । गत आर्थिक वर्षमा अस्पतालमा कुल १९ हजार ५८१ जनाको आँखाको शल्यक्रिया भएको थियो जसमध्येमा ११ हजार ५९२ जना भारतिय नागरिकहरु थिए जस मध्ये ८ हजार २३६ जनाको मोतिविन्दुको शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।
गत वर्ष गेटा आँखा अस्पताल र अन्तरगतका शाखाहरु तथा शिविरबाट २ लाख ५ १हजार ८३१ जनालाई सेवा प्रदान गरेकोमा २ हजार १४१ जनालाई अप्रेशन सेवा प्रदान गरेको छ । अस्पताल र शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर सञ्चालन गरी निःशूल्क सेवा प्रदान गर्दै आईरहेको छ ।
हाल नेत्रज्योति संघले गेटा आँखा अस्पताल सहित २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी रहेका नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् । सन् १९८० मा गरिएको सर्वेक्षण अनुसार नेपालमा अन्धोपनाको शिकार भएका जनताको संख्या ० दशमलव ८४ प्रतिशत हुँदा सुदूरपश्चिममा १ दशमलव ०२ प्रतिशत जनसंख्यामा अन्धोपन थियो त्यसै तथ्यलाइ मध्यनजर गरि सुदूर पश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिकामा गेटा आँखा अस्पतालको स्थापना भएको थियो । यस अस्पतालले आँखाको स्वास्थ्यमा उल्लेखनीय सेवा दिएको हुँदा सकारात्मक नतिजा प्राप्त हुँदै गयो जस अनुसार २००८ मा गरिएको सर्वेक्षणमा सुदूर पश्चिममा अन्धोपना ० दशमलव ४१ प्रतिशतमा झर्यो । हालसालै गरिएको सर्वेक्षणमा सुदूर पश्चिममा अन्धोपना प्रतिशत देशैभरिमा सबै भन्दा थोरै ० दशमलव २१ प्रतिशतमा झरेको छ । अन्धोपनामा आएको यो सुधारमा मुख्यतया गेटा आँखा अस्पतालको योगदान रहेको कुरा निर्विवाद छ । किनकि स्थापनाकाल देखि २०७९ असार सम्म गेटा आँखा अस्पताल र अन्तर्गतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुले ४६,२७,५७४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ जस मध्ये ६ लाख ३१ हजार ३४५ जनाको मोतिविन्दु लगायत आँखाको अन्य शल्यक्रिया गरेको छ । गेटा आँखा अस्पताल र तिलगंगा नेत्र अध्ययन संस्थानका विशेषज्ञहरुले सन् २०२१ मा गरेको संयुक्त अध्ययनले एउटा रोचक तथ्य फेला पारेको थियो त्यो के भने धनगढीमा रहेका सरकारी विद्यालयका विद्यार्थी हरुको तुलनामा निजि विद्यालयका दोब्बर विद्यार्थीहरुले चस्मा प्रयोग गर्नु पर्ने अवस्था रहेको थियो । सरकारी विद्यालयका विद्यार्थीहरु मध्ये २ दशमलव ५ प्रतिशत विद्यार्थीहरुले चस्मा प्रयोग गर्नु पर्ने अवस्था थियो भने निजि विद्यालयका विद्यार्थीहरु मध्ये ४ दशमलव ७ प्रतिशत विद्यार्थीहरुले चस्मा प्रयोग गर्नु पर्ने अवस्था थियो । यस बाट सरकारी र निजि विद्यालयको पठन पाठन शैलीमा रहेको ठुलो फरक पनि उजागर गर्दछ ।उपर्युक्त सफलता कुरा गरेको भरमा मात्र पाइंदैन त्यसका लागि सम्पूर्ण अस्पताल परिवारको निरन्तर लगनशीलता, सेवाभाव, अनुशासन, समय पालना, पेशागत दक्षता र कर्मचारीहरुको समर्पण अतिनै आवश्यक रहन्छ । गेटा आँखा अस्पतालको जस्तो समर्पित भएर सेवामा खटिने उदाहरणीय कर्मचारी समूह अन्यत्र कतै नभएको कुरा गेटा आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी गोबिन्द प्रसाद जोशीले बताए । विरामीहरुको अधिक चाप रहेको समयमा २४ घन्टामा अठार घण्टा सम्म चिकित्सक लगायत सम्पूर्ण कर्मचारीहरुले निरन्तर खटिएर काम गरेको अनुभव वहाँले गौरवका साथ साझा गर्नु भयो ।
“हामि संग डेढ दर्जन दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकहरुको टिम रहेको छ जुन हर हमेशा आफ्नो विज्ञता मार्फत नेत्र स्वास्थ्य सेवा प्रदान गर्न तत्पर छ । मलाई यो समुहमा काम गर्न पाउँदा गौरवको अनुभूति हुन्छ तथा आफ्नो क्षेत्रमा सेवा गर्न पाउँदा असिम सन्तुष्टि प्राप्त हुन्छ ।“ गेटा आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डाक्टर सुरेश राज पन्त भनछन्,। “हामि अस्पतालको चौतर्फी विकासमा निरन्तर चिन्तनशील छौं जसका लागि चुस्त व्यबस्थापन जरुरि हुन्छ । नेपालका वुभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुमा व्यबस्थापनको कमजोरीले गर्दा विकाशको चरम विन्दुमा पुगेका अनेकौं संस्थाहरु समेत धराशायी भएका प्रशस्त उदाहरणहरु हामीले देखेका छौं । हाम्रो संस्थामा पनि त्यस्ता कमि कमजोरी नरहून भनि हामीले उपलब्ध भए सम्मका सबै उपायहरु अवलम्बन गरेका छौं र अस्पताल व्यबस्थापन सुदृढ हुनुपर्छ भन्नेमा हामी सचेत छौं ।“ डाक्टर पन्तले अगाडी थप्नु भयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी दिब्य प्रशाद पन्तले भन्नु भयो “हरेक संस्थामा केहि दिग्भ्रमित व्यक्तिहरु हुन्छन् भने जस्तै हाम्रो गेटा आँखा अस्पतालमा पनि नहोलान भन्न सकिंदैन तसर्थ यस अस्पताल प्रशासन र व्यवस्थापन विरुद्ध बेला बेलामा कपोलकल्पित र झुटा समाचारहरु प्रकाशित हुनु कुनै नौलो कुरा होइन । हामी हरेक घटनाको गहिराइमा गएर छानबिन गर्छौं र सत्यता सबैका सामुन्ने ल्याउने प्रयास गर्छौं । झुटा हल्लाहरुको समयक्रममा आफै पर्दाफास हुँदै गएको छ र कुनै अस्पष्टता भए भविश्यमा स्पष्ट हुनेछ तथा मेरो नेतृत्वमा अस्पताल व्यवस्थापन समितिले अस्पतालको व्यवस्थापन, विकास र सम्पूर्ण कर्मचारीको वृत्तिविकासमा कुनै कसर छोड्ने छैन ।“ अस्पतालको दरबन्दी पुनरावलोकन भैरहेको छ भने दरबन्दी निर्धारण पश्चात समय पुगेका योग्य व्यक्तिहरुको योग्यता र मुल्यांकन अनुसार पदोन्नती हुनेछ । रिक्त दरबन्दीहरु यथाशीघ्र पूर्ति गरिने छ । राम्रो गर्नेलाइ प्रोत्साहन र नराम्रो गर्नेलाइ दुरुत्साहन गर्नु पनि व्यबस्थापन अन्तर्गतनै पर्दछ भन्नेकुरा समेत अध्यक्ष पन्तले थप्दै भन्नुभयो हालसालै हामीले नियमानुसार करारमा व्यबस्थापन सल्लाहकार पनि नियुक्त गरेका छौं जस बाट निकट भविष्य मै सकारात्मक नतिजा आउने अपेक्षा गरिएको छ ।
व्यवस्थापन सल्लाहकारको रुपमा कार्यरत नेपाली सेनाबाट अवकाश प्राप्त कर्नेल दीर्घ बहादुर चन्दले जानकारी गराए अनुसार “विगत चार महिना देखि म यस संस्थामा सेवारत छु । मैले देश, विदेशमा सेवा गर्ने मौका पाएको छु अनेकौं व्यक्तिहरु संग व्यवहार गर्ने अवसर पनि पाएको छु । मैले गेटा आँखा अस्पतालका कर्मचारीहरुमा संस्थाले प्रगति गर्नुपर्छ र यो संस्था हाम्रो हो भन्ने भावना प्रचुर मात्रामा पाएको छु । कर्मचारी सहकर्मीहरु लगायत व्यवस्थापन समितिमा रहनुभएका पदाधिकरिहरुको सकारात्मक सल्लाह, सुझाव र मर्गनिर्देशन अनुसार चलेको हुनाले नै मैले सकारात्मक प्रतिक्रियाहरु पाएको छु । हाल सबै सहकर्मी साथीहरु समयमै कार्यस्थलमा पुग्ने, तोकिएको पोशाक लगाउने, अस्पताल प्रशासनले जारि गरेको परिचय पत्र बोक्ने गरेका छन् जुन एकदमै सकारात्मक कुरा हो । हरेक संघ संस्थामा तीन किसिमका व्यक्तिहरु हुन्छन् पहिलो किसिम हो धेरै राम्रा सक्षम र सकारात्मक धारणा राख्ने, दोश्रो किसिम हो तोकिएको काम गर्ने तर आफ्नो कुनै धारणा नभएको र तेश्रो किसिम हो सक्षम हुँदा हुदै पनि कुनै व्यक्तिगत पूर्वाग्रहको कारण संस्था प्रति नकारात्मक धारणा राख्ने र विस्तारै आफ्नो क्षमता गुमाउँदै जाने तसर्थ सकारात्मकताको वर्चस्व स्थापित गर्नु नै हरेक संस्थाको चुनौती रहेको हुन्छ । संस्थाको व्यवस्थापन तहमा रहेका व्यक्तिहरुले सबैको भावनाको कदर गर्दै उचित समयमा उचित निर्णय गर्नु नै संस्थाको उत्तरोत्तर प्रगतिको प्रस्थान विन्दु हो” । व्यवस्थापन सल्लाहकार चन्दले थप्नु भयो “हरेक जीवन्त संस्थामा केहि नकारात्मक तत्वहरुले संस्थाको कुभलो गर्ने कुचेष्टा पनि गर्छन् तर हामी संस्थाप्रति दत्त चित्तले समर्पित भएर लागेका छौं र यसले निश्चित रुपमा सकारात्मक संदेश दिनेछ भन्नेमा पनि ढुक्क छौं” ।
सुरक्षाको लागि तैनाथ सुरक्षाकर्मीले प्रवेशद्वारमा नै विरामीहरुलाई आफ्नो पालोमा उपचार सहजहोस् भनि टोकन लैजान अनुरोध गर्छन् । नाम दर्ता गर्ने स्थानमा विरामीले आफ्नो टोकन नम्बर बोलाएको कुर्नु पर्छ र नाम दर्ता पश्चात क्रमशः आँखा परीक्षणको क्रम शुरु हुन्छ । अन्तर्गतका आँखा अस्पताल र उपचार केन्द्र बाट आएका विरामीहरुलाई सिधै विशेषज्ञ क्लिनिकमा पठाइन्छ भने अन्य विरामीहरुले समस्या अनुसारको उपचारकोलागी सम्बन्धित क्लिनिक हरुमा उपचार सेवा लिने गरेका छन् । बहिरंग विभागमा रेफ्र्याक्सन, ओ। पी। डी। क्लिनिक, जल विन्दु क्लिनिक, रेटिना क्लिनिक, कर्निया क्लिनिक, अकुलोप्लास्टी क्लिनिक, वाल क्लिनिक, विशेष (पेयिंग) क्लिनिक, वायोमेट्रि तथा माइनर अपरेसन जस्ता सेवाहरु प्रदान गरिन्छ । विरामीको समस्या अनुसारको उपचारकोलागी लाग्ने सामान्य शूल्क तिरे पछी अपरेसन गर्नु पर्ने भए वार्ड तथा शल्यक्रिया कक्ष तिर पठाउने गरिएको छ । गेटा आँखा अस्पतालको शल्यक्रिया कक्षमा दैनिक १ सय २० को हाराहारीमा मोतिविन्दु लगायत आँखा सम्बन्धि अन्य शल्यक्रिया हुने गरेको छ । यहाँ आँखा सम्बन्धि आवश्यक परीक्षणको लागि सुविधासम्पन्न प्रयोगशाला पनि रहेको छ । गेटा आँखा अस्पताल तथा अन्तर्गतका अस्पताल र उपचार केन्द्रहरुमा आवश्यक उपचार सामग्री र चस्मा आपूर्ति गर्ने स्टोर, चस्मा बनाउने वर्कसप, चस्मा वितरण कक्ष, औषधि वितरण कक्ष जस्ता सबै सेवाहरु समेत उपलब्ध छन् । ४०० शैय्याको वार्ड सेवा, १५ वटा सुविधा सम्पन्न क्याबिन, धर्मशाला र निस्शूल्क धर्मशालाहरु पनि विरामीहरुले आ९आफ्नो सुविधा अनुसार प्रयोग गर्ने गरेका छन् । स्मरण रहोस् यस अस्पतालमा रहेका धर्मशाला हरुमा भारतीय विरामी र कुरुवाहरु निस्शूल्क रुपमा बस्ने, आफै खाना पकाएर खाने व्यवस्था गरिएको छ जसको उपचार गराउन आउने भारतीय नागरिकहरुले मुक्त कण्ठले प्रसंसा गर्ने गरेका छन् ।
अस्पताल बाट निस्कने फोहर व्यवस्थापन समूहले दत्त चित्त भएर सर सफाई र फोहोर व्यवस्थापन सेवा प्रदान गर्ने गरेका छन् । भने मर्मत सम्भार समूहले सानातिना मर्मत सम्भार देखि महंगा उपकरण मर्मत गर्ने गरेका छन् । अस्पताल परिसरमा विरामी लगायत सबै आगन्तुक र कर्मचारीको लागि क्यान्टिनको व्यवस्था रहेको छ । अस्पतालका विशेषज्ञ चिकित्सक लगायत जरूरी सेवा संचालन गर्नका लागि आवश्यक न्युनतम जनशक्तिको आवासको लागि कर्मचारी आवास उपलब्ध छ भने अन्य कर्मचारिकोलागी यातायात खर्च सहित आकर्षक मासिक तलब, थप काम गरे वापत ओभर टाईम सुविधा, भ्रमण भत्ता, दशैं खर्च, नियमानुसार विदा सुविधा, बिमा सुविधा, वाहन खरिद सुविधा लगायत अन्य प्रोत्साहन भत्ताहरु प््रदान गरिने गेटा आँखा अस्पतालका लेखा अधिकृत मान बहादुर चौधरी बताउँछन् ।।
नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर चेत राज पन्तका अनुसार “चार दशक भन्दा बढी समय बाट निरन्तर आँखा स्वास्थ्य सेवामा संलग्न भएर सफलताको उचाइमा पुग्नु, स्वदेश लगायत हामी भन्दा विशाल र विकशित दक्षिण छिमेकी मुलुक भारत बाट झन्डै ५० प्रतिशत विरामी गेटा आँखा अस्पतालमा उपचारको लागि आउनु र निरन्तर विकास तर्फ लम्किनु कुनै एक व्यक्तिको प्रयास भन्दा पनि यस अस्पतालमा खटिएका सबै कर्मचारी हरुको अनुशासन, समर्पण, सेवाभाव र पेशागत दक्षताले नै सम्भव भएको हो ।


दर्शन खबर । ३० फाल्गुन २०७९, मंगलवार