नेपाल टिम ‘अलआउट’, पीएजीलाई दियो २९८ रनको कीर्तिमानी लक्ष्य

नेपालले आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो। नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल हो।

नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो। नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो।

नेपालले ओडिआईमा यसअघि पहिला ब्याटिङ गर्दा टियु मैदानमै गतवर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा २ सय ७८ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले। आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो भने उनले १ हजार ओडिआई रनसमेत बनाए।

कुशल भुर्तेल ४५ रनमा पेभेलियन फर्कँदा कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। आसिफले रोहितसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरे। रोहितले ३० बल खेली ३ चौकाहित ३५ रन बनाए।

आसिफ ३८ औं ओभरमा आउट भए। दीपेन्द्रसिंह ७ रनमा आउट भए भने आरिफ शेखले १५ रन जोडे। एक छक्का प्रहार गरेका करण केसी ८, सोमपाल कामी ७ रनमा आउट भए।

आउट हुने अन्तिम खेलाडी भिम सार्की रहे। उनले ३८ बल खेली ४ चौका प्रहार गरे।

पिएनजीका लागि सेमो कामिआले ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन खर्चे। रिलेय हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए।

तपाईको प्रतिक्रिया