जुम्लाको पोखरी गाउँमा पहिलोपटक बिजुलीकाे झिलिमिली

जुम्ला । तिला गाउँपालिका– ७ स्थित पोखरी गाउँका बासिन्दाले पहिलोपटक बिजुली बत्ती बालेका छन्। ५० किलोवाटको सौर्य ऊर्जा बाट विद्युत् निकालिएसँगै स्थानीयले बिजुली बत्ती बाल्न पाएका हुन्।

तीन करोड एक लाख ८८ हजार रुपैयाँ लागतमा सौर्य ऊर्जाबाट विद्युत् निकालिएको हो। गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले यसबाट पोखरी गाउँका ६६ घरधुरी लाभान्वित भएको बताए।

आइतबार उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रम गरी कर्णाली प्रदेशसका पूर्वकानुनमन्त्री तथा नेकपा माओबादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीले स्थानीय सरकारको समन्वय र आफ्नो पहलमा गाउँमा बिजुली आएको बताए। उनले अब हरेक घरमा चुलोलाई धुवाँमुक्त बनाउनुपर्ने बताए।

पोखरी सौर्य उर्जा उपझोक्ता समितिका सचिव गोविन्द रोकायाले बिजुली बाल्ने यहाँका बासिन्दाको दशकौँ पुरानो धोको पूरा भएको बताए । बिजुलीको सुविधा पाएसँगै प्रत्येक घरमा ६ बल्ब राखिएको उनले बताए।

टुकीको धूवाँका कारण दमलगायतको श्वासप्रश्वास रोगले ग्रसित हुने गरेको ठाउँमा बिजुली बल्दा गाउँले खुशी भएको स्थानीय धिरज रोकायाले बताए।

तपाईको प्रतिक्रिया