डोल्पामा करार शिक्षकको परीक्षामा सेटिङ्गको आशंका

डोल्पा । ठुलिभेरी नगरपालिका जुफालस्थित आदर्श माध्यमिक विद्यालयमा चार जनाको लागि खोलिएको शिक्षकको विज्ञापनमा चारजना परीक्षार्थी सहभागी गराएर परीक्षा सञ्चालन गरिएको छ । नगरपालिकाको शिक्षा शाखाका कर्मचारीको मिलेमत्तोमा उक्त परीक्षा गराएको हो ।नगर प्रमुख शुवर्णकुमार बुढाको आदेशमा शिक्षा शाखा प्रमुखमा कार्यपालिकाको निर्णय नै नगरी प्रावि शिक्षक तृतिय श्रेणीका कनिष्ट भएका योग्यता नपुगेका शिक्षक कमल बुढालाई निमित्त शिक्षा शाखा प्रमुख बनाएर यस्ता काम हुँदै आएको स्रोतले बताएको छ । अहिले उनै निमित्त शिक्षा शाखा प्रमुख बुढाले शिक्षक नियुक्ति प्रक्रियामा विधि मिच्ने काम सुरु भएको आरोप लाग्दै आएको छ । अस्थायी तथा करार शिक्षक छनौट प्रक्रियामा समितिको व्यवस्थाअनुसार सामाजिक विकास समितिको संयोजक रहने कानुनी व्यवस्था रहेको, तर सो समितिको अध्यक्ष नगर प्रमुखले अरूलाई नबनाएर आफैँ बसेको अवस्था रहेको छ ।

हाल नगरप्रमुख अहिले काठमाडौँ रहेको अवस्थामा निमित्त शिक्षा शाखा प्रमुख बुढाले धमाधम मनोमानी ढंगले परीक्षा सञ्चालन गर्नेदेखि करार शिक्षक नियुक्ति गरिरहेको आरोप लागेको हो । परीक्षा सञ्चालनका लागि सम्बन्धित विषयविज्ञ र गोपनीयताको आवश्यक पर्छ, तर यस्ता विषयमा ख्याल नै नगरी परीक्षा लिनुले गम्भीर आशंका उब्जिएको छ । बुढा भने नगरप्रमुखको फोन आदेशबाट परीक्षा सञ्चालन गरेको दावी गर्छन् । नगरपालिकामा नगर प्रमुख, कार्यालय प्रमुखदेखि सम्बन्धित विषयविज्ञ नै नराखी परीक्षा सञ्चालन गरेकोबारे हाल कार्यालय प्रमुख रहेका नि प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायाले यस विषयमा कुनै जानकारी नभएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमवहादुर सिंहले ४ जनाको विज्ञापनमा ४ जनाकै उपस्थितिले शंकास्पद भएको बताए ।

तपाईको प्रतिक्रिया