बारेकोटमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा

फाईल तस्बिर

जाजरकाेट बारेकोट गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । बारेकोट गाँउपालिका ८ जन्तेलेकमा फोरजी सेवासहितको टावर सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ। कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले टावर उद्घाटन गरेका हुन् । जन्तेलेकको टावर सञ्चालनमा आउँदा बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका केही वडावासीलाई सञ्चार सम्पर्क गर्न सजिलो भएको छ। अन्य स्थानमा निर्माणाधीन टावर पनि छिटो सम्पन्न गरी सातवटै पालिकामा सञ्चारको पहुँच पु(याइने बताइन्छ। टेलिफोन टावर सञ्चानलमा आएपछि नलगाड नगरपालिका ५ र ६, बारेकोट गाँउपालिका ७, ८ र ९ का सर्वसाधारणले सञ्चार सुविधा पाएका छन्।

सातवटै पालिकामा फोरजी सेवा उपलब्ध हुनेगरी टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्यसाथ काम थालेको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपेन्द्र अधिकारीले बताए ।  जिल्लाबाहिर फोन सम्पर्क गर्न घण्टौँ हिँडेर डाँडा र अग्लो रुख चढ्नुपर्ने बाध्यता अन्त्य भएको बारेकोट गाउँपालिका–८ का वडाध्यक्ष योगेन्द्र सिंहले बताए । जाजरकोटका अधिकांश स्थानमा फोरजी सेवासहितका २० वटा टेलिफोन टावर सञ्चालनमा आएपछि नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्या वृद्धि भएको टेलिकमका कार्यालय प्रमुख अधिकारीले बताए । टावर उद्घाटनक्रममा नेपाल टेलिकमले निःशुल्क मोबाइल सिमकार्ड वितरण गरेको छ। उहाँका अनुसार सात सय जनालाई नमस्ते मोबाइलको सिमकार्ड वितरण गरिएको थियो। गोरखापत्र


तपाईको प्रतिक्रिया