काठमाण्डौँ । ललितपुरको लगनखेलमा आत्मदाहको प्रयास भएको छ । बिहिवार साँझ त्यहाँको विद्युत प्राधिकरण भवन अघिल्तिर एक जना पुरुषले शरीरमा आगो लगाएका हुन् । साँझ साढे ७ बजेतिर लगनखेलको प्राधिकरण क्वार्टरमा बस्दै आएका उद्धव पराजुलीले शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइन्छ । प्राधिकरणमा कार्यरत श्रीमतीसँग उनी स्थानीय क्वार्टरमा बस्दै आएका हुन् । श्रीमतीकै अघिल्तिर आगो लगाएका उनको शरीरको ४० प्रतिशत भाग जलेको छ । आफन्त र प्रहरीको सहयोगमा आगो निभाएपछि उनलाई उपचारार्थ पाटन अस्पतालमा लगिएको थियो । पछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । तर आत्मदाहको प्रयास किन गरे भन्ने कारण नखुलेकाले अनुसन्धान भइरहेको जनाइएको छ ।


दर्शन खबर । १२ फाल्गुन २०७९, शुक्रबार