राष्ट्रपति नपाए एमाले सरकारबाट बाहिरिन्छ : एमाले सचिव भट्टराई

रुकुम पश्चिम। नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० को सहमतिअनुसार नभए नेकपा एमाले सरकारमाबाट बाहिरिने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको बताए । पुस १० मा माओवादी र एमालेको सहमति अनुसार एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो । सोही सहमति अनुसार राष्ट्रपतिमा एमालेको उम्मेदवार निर्वाचित हुनुपर्ने उनको भनाइ छ । ‘तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो’, उनले भने, ‘सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमतिअनुसार नै सत्तासमीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।’ ‘एमालेले दुईवटा डुंगामा खुट्टा हाल्दैन, १० गतेको सहमति कार्यान्वयन भयो भने हामी सरकारमा रहन्छौँ, भएन भने हामी कसरी सरकारमा रहने रु’ उनले प्रश्न गरे । यदि सहमति विपरीत हुने अवस्था आएमा एमाले सरकारमा नरहने उनले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया