काठमाण्डौँ । नेपाली कांग्रेसले राष्ट्रपतिमा समर्थन गर्न नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दोस्रो पटक औपचारिक प्रस्ताव गरेको छ । उम्मेदवार मनोनयनको तीन दिनअघि कांग्रेसले बुधबार राति प्रचण्डसँग लामो छलफल गरेको हो । राष्ट्रपतिमा आफ्नो पार्टीलाई समर्थन गर्न सभापति शेरबहादुर देउवासहितका नेताहरू बुधबार साँझ बालुवाटार गएका थिए । प्रचण्डसँग झन्डै ३ घण्टा छलफल गरेर कांग्रेस नेताहरू उत्साहित मुडमा बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटार बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा समर्थनको लागि दोस्रो पटक आग्रह गरिएको र प्रचण्डले उपयुक्त समयमा निर्णय लिने बताएको जानकारी दिए । ‘राष्ट्रिय सहमतिको लागि तपाईँले उठाएको एजेन्डा अनुसार कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्नुभयो भने संसदमा भएको पहिलो पार्टीले राष्ट्रपति पाउँदा सकारात्मक सन्देश जान्छ, त्यो अनुसार राष्ट्रपतिमा सहयोग गर्नुस् भन्यौँ,’ खड्काले भने, ‘पार्टीमा छलफल भएर मलाइ निर्णय लिने अधिकार दिएको छ । सत्ता गठबन्धनका अरु दलसँग कुरा गर्दैछु । तपाईंहरुले राखेको प्रस्तावमा अस्ति पनि कुरा भयो, आजपनि कुरा भयो । उपयुक्त समयमा म निर्णयमा पुग्छु भन्नु भएको छ ।’ बालुवाटारमा प्रचण्डसँग भेट्नुअघि देउवाले आफ्नै निवासमा नेकपा एसका अध्यक्ष माधव नेपालसहितका नेतासँग छलफल गरेका थिए ।
नेता नेपाललाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेको विषय बालुवाटार बैठकमा छलफल भएको थियो । प्रचण्डसँगको भेटमा कांग्रेसले प्रधानमन्त्रीमा विश्वासको मत दिएको र सरकारलाई अप्ठेरो परेको समयमा साथ दिने आश्वासन दिएको थियो । उपसभापति खड्काले यसअघिको भेटपनि सकारात्मक रहेको बताए । ‘उहाँ (प्रचण्ड)ले प्रष्ट के भन्नुभयो भने तपाईहरुले पहिला मलाइ भेटेर कुरा भन्नुभएको छ । राष्ट्रिय सहमतिको कुरा उठाइराखेको छु, त्यो कुरामा म अहिले पनि दृष्ढ छु । त्यसैले तपाईंहरुले भनेको कुरामा उपयुक्त समयमा निर्णय गर्छु भन्नुभयो’ खड्काले भने । उम्मेदवारको बारेमा भने आज छलफल नभएको खड्काले बताए । कांग्रेसका अर्का एक नेताले प्रचण्डसँगको भेट निकै सकारात्मक रहेको र सभापति देउवा उत्साहित भएर बालुवाटारबाट निस्केको बताए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवार मनोनयनको कार्यतालिका छ । नेकपा एमालेले पुस १० गतेको सहमति अनुसार राष्ट्रपतिमा माओवादीले आफूलाई समर्थन गर्नुपर्ने बताउँदै आएको छ । बुधबार बिहान प्रचण्ड र ओलीबीच बालुवाटारमा लामो कुराकानी भएको थियो । लाकोन्तर


दर्शन खबर । १० फाल्गुन २०७९, बुधबार