कार्यसम्पादनमा वीरेन्द्रनगर नगरपालिका उत्कृष्ट

बिनोद घिमिरे सुर्खेत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा वीरेन्द्रनगर नगरपालिका यो वर्ष जिल्लामा उत्कृष्ट भएको छ । ९ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा बढी अंक ६७ दशमलब ३४ प्रतिशत प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । वीरेन्द्रनगर नगरपालिका उत्कृष्ट हुँदा लेकबेशी नगरपालिका भने पुछारमा रहेको छ । लेकबेशीले सबैभन्दा कम ५० दशमलब ७४ प्रतिशत अंक मात्र प्राप्त गर्न सफल भएको छ । जिल्लामा ५ नगरपालिका र ४ गाउँपालिका रहेका छन । सिम्ता गाउँपालिकाले ६१ दशमलब ५९ प्रतिशत, पञ्चपुरी नगरपालिकाले ५८ दशमलब ६१ प्रतिशत अंक ल्याएर क्रमश दोस्रो तेस्रो भएका छन । त्यस्तै भेरीगंगा नगरपालिकाले ५५ दशमलब २२ प्रतिशत, गुर्भाकोट नगरपालिकाले ५५ दशमलब ०२ प्रतिशत, चौकुने गाउपालिकाले ५४ दशमलब ४३ प्रतिशत चिङ्गगाड गाउँपालिकाले ५३ प्रतिशत, बराहताल गाउँपालिकाले ५२ दशमलब १२ प्रतिशत अंक पाएका छन ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदन अनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशको समेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। सोही अनुसार कर्णाली प्रदेशले भने २५ दशमलब ९ अङ्क प्राप्त गरेको हो। यसमा लेखापरीक्षण, बेरुजु फस्र्यौ, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलन लगायत विषयलाई सूचकका रूपमा राखिएको छ । ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्छ। कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।


तपाईको प्रतिक्रिया