मिसन ग्रासरुटमा जुट्यो एमाले सुर्खेत

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेत पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा जुटेको छ । अभियान अन्तर्गत जिल्ला कमिटीले सोमबार वीरेन्द्रनगरमा जिल्ला स्तरीय अभिमूखीकरण सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले काँग्रेससंगको लेनदेन एमालेलाई स्वीकार्य नहुने बताएका छन् । निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काँग्रेसतिर ढल्किएको इंगित गर्दै सचिव भट्टराईले काँग्रेससंगको सत्ता सहकार्य एमालेलाई स्वीकार्य नहुने बताएका हुन् । उनले काँग्रेसलाई देखाएर एमालेसंग बार्गेनिङ नर्गन माओवादीलाई आग्रह गरे । प्रधानमन्त्री पुष्प कमल दाहालले नै पुस दश गते राष्ट्रपति र सभामुख एमालेलाई दिने प्रस्ताव गरेको जिकिर गर्दै उक्त सहमति इमान्दारीपूर्वक पालना हुनुपर्नेमा भट्टाईले जोड दिए। एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानलाई उनले व्यक्तिको होलबडी जाँच जस्तै पार्टीको होलवडी जाँच गर्ने अभियानका रुपमा अथ्र्याए ।

‘मिसन ग्रासरुट पार्टीको फुलबडी जाँच गर्ने अभियान हो’ उनले भने‘जसरी फुलबडी जाँचमा सुगर, प्रेसर के छ शरिर ठिक अवस्थामा छ की छैन भनेर पत्ता लाग्छ त्यसरी नै पाटीको अवस्था पत्ता लगाउन यो अभियानले सहयोग पुग्नेछ ।’ अभियानले पार्टीलाई जवान बनाउने उनले जिकिर गरे । स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले राष्ट्रको समृद्धिका लागि एमालेको विकल्प नभएको भन्दै राष्ट्र निर्माणको कार्यभार पूरा गर्न एमाले पार्टीलाई सशक्त बनाउन आवश्यक रहेको बताए । उनले सक्रिय भएर अभियानमा सक्रिय हुन पार्टी कमिटिहरुलाई निर्देशन पनि दिएका छन् । स्थायी कमिटि सदस्य गोरख बोगटीले अहिले पनि जनताले एमालेलाई लोकप्रिय मत दिएको स्मरण गर्दै समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्नका लागि स्पष्ट बहुमत ल्याउन एमालेका सबै सदस्यहरु सक्रिय भएर लाग्नुपर्ने बताए । पोलिट व्यूरो सदस्य गुलावजंग शाहले अभियानमा पार्टीले दिएको जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्ने बताए ।


तपाईको प्रतिक्रिया