गुराँस गाउँपालिकाका कर्मचारीविरुद्ध मुद्दा दायर

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख गुराँस गाउँपालिकाका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिकाका इञ्जिनियर लगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । स्थानीय निगालपानी रेग बगौरा सडक निर्माण योजनाको सम्झौतामा रहेको निर्धारित शर्त र मापदण्डविपरीत नक्कली नापी किताब बनाएको, उपभोक्ता समितिसम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदनसमेत तयार पारी मापदण्डअनुसार सडक निर्माण भएको भनी गलत प्रतिवेदन बनाएको पाइएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सो परियोजनामा यसरी अनियमितता गर्नेमा तत्कालीन इञ्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनियर नवीनकुमार विसीको संलग्नता रहेको आयोगको ठहर छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाहीको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया