रुकुम पश्चिम। बाँफिकोट गाउँपालिकाले ओखरका बिरुवा वितरण गरेको छ । गाउँपालिका भित्रका सबै वडाका किसानलाई ओखरको बिरुवा वितरण गरिएको कृषि विकास शाखा बाँफिकोटका लोकेन्द्र ओलीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट विस्तार कार्यक्रम तथा संघीय सशर्त कार्यक्रमको आर्थिक सहयोगमा १६ जना किसानलाई बिरुवा वितरण गरिएको हो । एक हजार थिन्सेल दाँते कलमी जातका ओखरका बिरुवा प्रात्यक वडाका २/२ जनालाई प्रदान गरिएको उनले जानकारी दिए ।
किसानलाई व्यावसायिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले ओखरका बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ओखर वितरण कार्यक्रममा बाँफिकोट गाउँपालिकाका उपाध्यक्ष तारा बुढा केसी, प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओली, कृषि शाखा प्रमुख लोकेन्द्र ओली लगायतको सहभागिता रहेको थियो । पाँच लाख रुपैयाँ बराबरको बिरुवा खरिद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जसमा गाउँपालिकाको पचास प्रतिशत र कृषकको पचास प्रतिशत लगानी रहेको छ । ओखरका बिरुवा त्रिवेणी गाउँपालिकाको सन्तोष नर्सरी फार्मबाट खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।


दर्शन खबर । ७ फाल्गुन २०७९, आईतवार